Sunday, February 15News That Matters

वडाध्यक्षको सिफरिसमा एकै व्यक्तिको दुई नागरिकता

उदयपुर, जेष्ठ २७ गते ।

उदयपुरको कटारीका एक युवतीले वडाध्यक्षको सिफारिसमा दोहोरो नागरिकता लिएको छ ।  कटारी नगरपालिका–४ स्थाई ठेगाना भएकी धनमाया राईले  वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा दोस्रो नागरिकता लिएको हो ।

साबिकको कटारी–३ हाल कटारी – ४ गबुवा निबासी २४ वर्षीय धनमाया राईले सिन्धुली र उदयपुरबाट दोहोरो नागरिकता लिएको खुलेको छ । २०५२ साल वैशाख ४ गते जन्म मिति र बुवा दर्वजीत राई आमा मनसरि राईकी छोरी धनमायाले पति र माईतीबाट नागरिकता लिएको खुलेको हो ।

पतिको नामबाट लिएको नागरिकतामा धनमाया राई उल्लेख भएको छ भने माईतीबाट लिएको नागरिकतामा सितल राई उल्लेख गरेको छ । उनीले २०६७ सालमा जातीय परम्परा अनुसार दुधौलीको प्रकाश राईसँग विवाह भएको थियो ।

विवाह गरेको करिब दुई वर्षपछि साविक ककुरठाकुर गाविस वडा नम्बर ६ हालको दुधौली नगरपालिकाबाट विवाह दर्ता गराएको थियो ।  उक्त विवाह दर्ता अनुसार श्रीमानको नामबाट जन्म धनमाया राईलाई सिन्धुली जिल्ला प्रशासन कार्यालयले २०६९ साल माघ २३ गते २०–०१–६९–०३३७५ नम्बर नागरिकता दिएको थियो ।

सिन्धुलीबाट नागरिकता लिएको राईले पुन माईती पक्षबाट कटारी नगरपालिका–४ नम्बर वडाकोे सिफारिसमा ईलाका प्रशासन कार्यालय कटारीबाट २०७४ भदौ २९ गते  १४–०२–७४–०१४१२ नम्बरको शीतल राई नाम उल्लेख भएको नागरिकता प्रमाणपत्र लिएको थियो ।

राईले लिएको दुई जिल्लाका नागरिकतामा नागरिकता प्रमाण पत्रमा नाम मात्रै फरक तर जन्म मिति, आमा वुवाको नाम र जन्मिएको ठेगाना एउटै उल्लेख भएको पाईएको छ । कनपा–४ का वडाध्यक्ष कृष्णराज दनुवारले नागरिकताको सिफारी गरिदिएको खुलेको छ ।

राईले पहिलो नागरिकता सिन्धुलीबाट लिई सकेकाले दोस्रो नागरिकता बनाउनका लागि आथिर्क चलखेल गरेको स्थानिलय आरोप लगाएका छन् । पहिलो नागरिकता पाईसकेका राईलाई दोस्रो नागरिकता दिलाउनका लागि सिफारिस गरेका वडाध्यक्ष कृष्णराज दनुवारले भने पहिलो नागरिकता लिएको भन्ने कुरा थाहा नपाएकाले सिफारिस गरिदिएको उनले बताए । कुनै व्यक्तिको दुईवटा नागरिकता भएको खण्डमा एउटा नगरिकता खारेज हुने वडाध्यक्ष दनुवारले बताए ।

वडाध्यक्ष नै जिम्मेवार व्यक्ति भएकाले आफ्नो वडाको स्थानियबासी कस्ले लिएको छ । कस्ले लिएको छैन भन्ने कुरामा एकिन भई कागज पत्र अगाडी बढाउनु पर्ने इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले बताए ।

वडाबाट सम्पूर्ण आवश्यक कागज पत्र सहित सिफारिस गरि पठाएकाले यसको जिम्मेवारी वडाध्यक्षले नै लिनु पर्ने प्रमुख पौडेलले बताए ।

एकै व्यक्तिको दुइवटा नागरिकता लिएको खण्डमा प्रचलित कानुन बमोजिम लिने र दिने दुवै जनालाई कार्वाही हुने कानुनमा व्यावस्था गरिएको छ  । नागरिकता ऐन २०७५ अनुसार यदि कसैले झुटो विवरण दिएर दोहोरो नागरिकता लिएको खण्डमा ५ वर्षसम्म कैद र २० हजार देखी एक लाखसम्म जरिवाना हुने व्यवस्था छ भने सिफारिस गर्ने व्यक्तिलाई समेत कानुनी कारबाही हुने व्यवस्था कानुनमा उल्लेख गरिएको छ ।