
पूर्णपुष्टि, असार २४
गत चैत, वैशाख, जेठ र असारको विजुली महसुल आगमी साउन ७ गते भित्र तिरे जरिवाना नलाग्ने नेपाल विद्युत् प्राधिकरणले व्यवस्था गरेको छ । प्राधिकरणले गत असार १९ गते साउन ७ गतेभित्र महसुल तिरे सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो ।
निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ ।
सरकारले लकडाउन अवधि लम्बाएपछि प्राधिकरणले पनि सोहीअनुसार महसुलमा जरिवाना नलाग्ने व्यवस्था गरेको हो । अब गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना लाग्ने छैन ।
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड(१९)का कारण अर्थतन्त्रमा गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।
सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको चैत २५ गतेको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो ।
सञ्चालक समितिले लकडाउन अवधि थपिएमा सोहीअनुसार जरिवाना छुटको निर्णय गर्न कार्यकारी निर्देशकलाई अधिकार दिएको थियो । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिङ्गल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सुरु गरिसकेको छ ।
