
पूर्णपुष्टि, चैत २ गते ।
विदेशबाट नेपाल फर्कने सवैलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने अनिवार्य गरिएको छ । अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउने विदेशी नागरिकलाई आफ्नै व्यवस्थापनमा र नेपालीहरुलाई आफ्नै घरमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको हो ।
घर फर्केकाहरुले १४ दिनसम्म परिवारका सदस्यसँग पनि भेटघाट नगरी छुटै कोठमा बस्न विभागले आग्रह गरेको छ । घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्न, मास्क लगाउन, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्न, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्न, अरु व्यक्तिसँगको दूरी बढाउन भान्सा बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
घरबाट बाहिर ननिस्कन, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न, आफूले प्रयोग गरेका कपडा रुमाल अरुलाई प्रयोग गर्न नदिन र अरु मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न मन्त्रालयले यसअघि नै आग्रह गरिसकेको छ ।
छुट्टै बस्दा पनि नियमित तापक्रम जाँच्न र रुघाखोकी लागे तत्काल अस्पताल जान मन्त्रायलले सुझव दिएको छ ।
विदेशी नागरिक तथा आप्रवासी नेपालीलाई नेपाल आएसकेपछि दिइने अनअराईभल भिसा पनि आउँदो वैशाख १८ गतेसम्मको लागि स्थगित गरिएको अध्यागमन विभागले जनाएको छ ।
पाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढीमा सात दिनअघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ । सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।
