
पूर्णपुष्टि, भदौ ७
खाडी र मलेसियासहित विश्वका ३८ देशमा कार्यरत ३४ हजारभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार साँझसम्म विश्वका ३८ देशमा कार्यरत ३४ हजार तीन सय एक जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।
सङ्क्रमितमध्ये ३२ हजार दुई सय ५३ जना नेपाली उपचारपछि निको भएको समितिले जनाएको छ । विदेशका १६ देशमा १ सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ ।
गत साता लग्जम्र्वमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म विश्वका विभिन्न देशमा एक सय ९२ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भईसकेको जनाईएको छ ।
अहिलेसम्म कोरोना भाइरसबाट बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ । गत साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा रहेका नेपालीमा सामान्य रुपमा सङ्क्रमण दर बढेको जनाईएको छ ।
