
पूर्णपुष्टि, बैशाख १५ गते ।
पहिलो पटक कोरोना भाईरस फेला परेको चीनको वुहान शहरमा कोरोना संक्रमित शून्यमा झरेको छ । गत डिसेम्बर अन्तिममा पहिलो पटक वुहानमा कोरोना संक्रमण देखिएको थियो ।
शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना संक्रमित डिस्चार्ज भएपछि एक जना पनि नयाँ बिरामी नथपिएका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । स्वास्थ्यकर्मीको मिहेनतले गर्दा यो सम्भव भएको जनाएको छ ।
कोरोना संक्रमण फैलिएपछि वुहानमा ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएकोमा ५० हजारभन्दा बढी वुहानका मात्र रहेको थियो । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
