
पूर्णपुष्टि, जेठ २७ गते ।
धादिङमा वेवारिसे एक महिला सहित १७ जनामा कोरोना पुष्टि भएको छ ।
गजुरी गाउँपालिका–५ घाटबेसी क्षेत्रमा एक महिनादेखि बेवारिसे अवस्थामा रहेकी ३२ वर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएकी महिलालाई नियमित खाना खुवाउने लगायतका कार्य गर्ने मानिसलाई समेत पीसीआर जाँच गर्नका लागि गाउँपालिकाले टेकु पठाएको जनाईएको छ ।
सडकमा डुलिहिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो ।
परीक्षणपछि कोरोनाको लक्षण देखिएकाले उनीसँग सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नसमेत समस्या भएको छ । मनोसामाजिक समस्या भएकी महिला भएको र अन्य रोगसमेत भएको आशंका गरिएको छ ।
महिला आफैँमा बोल्दा अगाडिको कुराहरु सम्झेर बोल्न र कुरा गर्न सक्ने अवस्था नभएकाले कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब जेठ २१ गते संकलन गरिएको थियो ।
