
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते
-त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव -र्यालीमा व्यापारीहरुकै सहभागिता नरहेपछि विद्यार्थी प्रयोग गरिएको छ ।
औलामा गन्न सकिने व्यापारीबाहेक अरु नआएपछि त्रियुगा माध्यामिक विद्यालयका विद्यार्थी प्रयोग गरिएको हो । ५०/६० जना संख्याको हाराहारीमा विद्यार्थी र्यालीमा उतारिएको थियो ।
कुनै पनि मेला, महोत्सव तथा कार्यक्रमको र्यालीमा विद्यार्थीलाई प्रयोग गरेर कष्ट दिन नहुने कुराको विपरित विद्यालयले पनि विद्यार्थीलाई र्यालीमा पठाएको छ । विद्यालयका प्रधानाध्यापक सुवास विष्टले संघले पत्रनै काटेर अनुरोध गरेकोले विहानको पढाई पछि थोरै संख्यामा विद्यार्थी पठाइएको बताउनुभयो । विद्यालय पोशाकमै सहभागि विद्यार्थीहरु अढाईघण्टा कष्टपूर्ण बसाईपछि र्यालीमा हिडेका थिए । र्यालीकै क्रममा पिपलचौकमा वितरण गरिएको पानीमा लुछाचुडी गरेको दृष्यबाट उनीहरु थकान र तिर्खामा तड्पिएको स्पष्ट थियो ।
संघका केही पदाधिकारीको अगुवाईमा नेवारी, थारु, मगर र ब्रम्हकुमारी राजयोग केन्द्रको साना–साना समुह पछि त्रियुगा माध्यामिक विद्यालयका विद्यार्थीको समुह राखिएको थियो ।
पटक पटक आयोजना हुने मेला, महोत्सवले कुनै उपलब्धी नदेखाएको, विद्यार्थीको परिक्षाको मुखमा आयोजना भएको, स्थानीय व्यापार, व्यवसायको प्रवद्र्धन भन्दा नोक्सानी भएको भन्दै महोत्सव आयोजनाप्रति व्यापक जनगुनासो आइरहेको छ । त्यसैकारण र्यालीमा राजनीतिक दल, आमन्त्रित सुरक्षा तथा कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधि र सर्बसाधारणको उपस्थिति थिएन ।