Tuesday, March 25News That Matters

शान्ति सुरक्षामा सरकार चुकेको आरोप

पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते ।

आसन्न निर्वाचनमा सरकारले भरपर्दो शान्ति सुरक्षा व्यवस्था गर्न नसकेको इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले बताउनु भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम अध्यक्ष प्याकुरेलले शान्ति सुरक्षा व्यवस्थति गर्न सरकार चुकेको आरोप लगाए ।

निर्वाचनको मुखमा सिडियो सरुवा, वढुवा गरेर सरकारले निर्वाचन आफुअनुकुल बनाउन खोजेको आरोप लगाउँदै उनले कर्मचारी सरुवा बढुवा, चुनावको मुखमा पैसा बाँडेन र एक बर्षअघिका बाढीपहिरो प्रभावितका नाममा राहात जस्ता प्याकेजलाई तत्काल बन्द गरी आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरे ।

दल र तिनका उमेदवार प्रति लक्षित गर्दै अध्यक्ष प्याकुरेलले निर्वाचनमा सहभागि दलका नेतालाई घोषणा पत्रमा उल्लेख भएका बुँदा र प्रतिबद्धतालाई इमान्दारसाथ व्यवहारमा उतार्न आग्रह गरे । “हचुवाको तालमा बोल्ने अनी जितेर गएपछि फर्केर नआउने, उनले भने, यस्तो प्रवृतिको अन्त्य गर्नुस जे पुरा गर्न सकिन्छ त्यति मात्र बोल्नुस ।”

नेताको बोलि र व्यवहार फरक हुँदा जनता प्रति विश्वास घटदै गएको भन्दै उनले सस्तो लोकपृयता नदेखाउन आग्रह गरे । अध्यक्ष प्याकुरेलले नेताका बोली र प्रतिबद्धतालाई कसरी पुरा गर्छौ भन्ने बानीको विकास गर्न मतदातालाई पनि आग्रह गरे । उनले निर्वाचन पछि आम मतदातालाई नेताले बोलेका कुराको काम भए नभएका बिषयमा सचेतना फैलाउन आबश्यक रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै मानव अधिकार संगठनका अध्यक्ष इन्द अर्यालले निर्वाचनमा हुने खर्चलाई पारदर्शी बनाउन आग्रह गरे । “निर्वाचनमा हुने अस्वभाविक खर्चको हिसाव खोज्ने समय आएको छ,” उनले भने, “निर्वाचनको माहोल आफुप्रति बनाउन दलहरु खर्चको सिमारेखा ननघाउनुस ।” उनले निर्वाचनलाई धाधँली रहित बनाउन आफैबाट सुरु गर्नु पर्नेमा जोड दिए । मतदाताहरु सचेत हुँदा हुँदै पनि विभिन्न प्रलोभनमा परी अस्वभाविक कृयाकलाप हुने गरेको बताउँदै उनले उठेको चेतनालाई व्यवहारमा उतार्न आग्रह गरे ।

कार्यक्रममा इन्सेकका पुर्वाञ्चल प्रमुख सोमराज थापाले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए । त्यसैगरी नियोगका जिल्ला संयोजक युवराज पराजुली र मानव अधिकार संगठनका जिल्ला सचिब भक्तिबिलास पोखरेलले जिल्लाको निर्वाचन, आचारसंहिता र मानवअधिकारका सवालहरु राखेका थिए ।

कार्यक्रम अघि इन्सेकका अध्यक्ष प्याकुरेल, मावअधिकार संगठनका अध्यक्ष अर्याल, इन्सेक पुर्वाञ्चल प्रमुख थापाले जिल्लाको शान्तिसुरक्षाको अबस्थाको बारेमा प्रहरी प्रमुख एसपी नवराज भट्ट, सशस्त्र प्रमुख पुरणचन्द्र भट्टसँग जानकारी लिएका थिए । लगत्तै प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटासँग पनि जिल्लाको निर्वाचन र आचारसंहिताका सवालमा जानकारी लिएका थिए ।