
पूर्णपुष्टि, असोज २० गते ।
काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनतालाई शासन होईन सेवा प्रदान गर्नु पर्नेे बताएका छन् । गृह मन्त्री शर्माले नेपाल प्रशासन सेवाका पदाधिकारीहरुका लागि कानून र न्याय सम्बन्धी तीन महिने तालीम शुक्रबार उद्घाटन गर्दै, आजको जनप्रशासन सेवाभावकासाथ जनतामा समर्पित हुनु पर्ने बताए ।
उनले बिगतदेखिनै सरकारी सेवा झंजटिलो हुँदै आएको जिकीर गर्दै, त्यसलाई सहज बनाएर सामान्य जनताका समस्या समाधान तिर निजामती सेवा लाग्नु पर्नेमा जोड दिए । उनले सो तालिम औपचारिकता मात्र न भएर गृह मन्त्रालयले ल्याएका चौरासी बुँदे मार्गचित्रको एउटा भाग भएको जिकीर गर्दै, तालिमका दौरान फेल हुनेहरुलाई प्रमुख जिल्ला अधिकारी पदमा नियुक्त नगरिने बताए ।
यसैगरी कानुनमन्त्री यज्ञबहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै, तालिमले सच्चा राष्ट्रसेवक उत्पादन गर्ने विश्वास लिएको बताए । न्याय सेवा तालिम केन्द्रका तालिम प्रमुख कलानिधि पौडयालले तालिममा सहभागी हुनेहरुले आफ्नो दर्जा केही समयका लागि बिर्सेर, सकारात्मक सोचकासाथ अनुशासित भएर तालिममा सहभागी हुनु पर्ने बताए ।