
पूर्णपुष्टि,फागुन २८
२७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव डोटीको जोरायल गाउँपालिका–२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृत फेला परेको थियो । बैतडीको पाटन नगरपालिका–१ सकार पलेटा निवासी शिक्षक भट्टराईको शव एक हप्ता हुँदासम्म पनि आफन्तले बुझ्न मानेका छैनन् ।
घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखेपछि विगत सात दिनदेखि शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ ।

शव परीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले नमूना काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले मृतक भट्टराईको हत्या आशङ्कामा अनुसन्धान गरिरहेको भए पनि हालसम्म कुनै तथ्य फेला पार्न नसकेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा गरिएको शव परीक्षण रिपोर्टमा हत्याको कुनै कुरा उल्लेख नभएपछि अनुसन्धानमा समस्या भएको प्रहरीले जनाएको छ ।
उनले विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए ।

