Sunday, February 16News That Matters

संगम पुस्तकालयको सुनौलो कदम

पूर्णपुष्टि/उदयपुर, मंसीर १५ गते ।

सदरमुकाम गाईघाटको सबैभन्दा जेठो र ठूलो संगम सामुदायिक पुस्तकालयको सञ्चालक समितिमा नयाँ नेतृत्व आएसंगै सुनौला योजनाहरु आएको छ ।

करिब करिब बन्दजस्तो भइसकेको पुस्तकालयले भरत खड्काको नेतृत्वको नयाँ कार्यसमिति पाएपछि जिबन्त बन्नुका साथै पुस्तकालय सञ्चालनसहितका विभिन्न जीवन उपयोगी योजनाहरु ल्याएको हो । नयाँ नेतृत्वको पहिलो कदममा शुक्रबार महिला कम्प्युटर साक्षरता कार्यक्रमको उद्घाटन भयो । कार्यक्रमका प्रमुख अतिथि एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पानसमा बत्ति बाल्दै कम्प्युटरसमेत खोलेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

दैनिक सयजना महिलाहरुलाई कम्प्युटर सिकाउन सक्नेगरी कम्प्युटर साक्षरता कक्षा सञ्चालन गरिएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गर्दै सबैका लागि पुस्तकालयको निर्माण गर्ने, जीवनपर्यान्त शिक्षाका लागि एक स्थानीय तह : एक नमुना पुस्तकालय आदर्श वाक्य व्यवहारिक कार्यन्वयनका लागि संयोजन नेतृत्वदायी भूमिका निर्वाह गर्ने महान् लक्ष बोकेको पनि बताउनुभयो । यसले स्मार्ट गाउँ शहरको अवधारणालाई पुरा गर्न टेवा पुर्याउने र पुस्तकालयले गाउँ शहरको शोभा पनि बढाउने उहाँले बताउनुभयो ।

अध्यक्ष खड्काले फुर्सदमा रल्लिने, अनावश्यक गफ गर्ने, जुवातासमा भुलिनुको सट्टा पुस्तकालय आएर विभिन्न पुस्तक अध्ययन गर्ने, कम्प्यूटरमा ज्ञान सिक्न सबैलाई अनुरोध गनुभयो । समयअनुकुल प्रविधिहरुमा ज्ञान हुनुपर्ने भन्दै फ्रि वाईफाईको व्यवस्था पनि मिलाइएको बताउनुभयो ।

पुस्तकालय अन्तर्गत बालबालिकादेखि बृद्धबृद्धासम्मका लागि उपयोगी गतिविधिहरु सञ्चालन गरिने कार्यक्रममा जानकारी दिइएको छ । पाठक पुरस्कार, पठन प्रतियोगिता, पुस्तक हस्तान्तरण, जेष्ठ नागरिक सम्मान, कथा सुन्ने, चित्र कार्यक्रम, दैनिक हजार संकलन, प्रविधिमैत्री सूचनामा पहुँच, सूचना संस्कारको विकास, विभिन्न सामग्री प्रकाशन, प्रशारण र प्रतियोगिताहरु सञ्चालन लगायतका गतिविधिहरु सञ्चालन गरिने बताइएको छ ।

त्रियुगा नगरपालिकाका मेयर लगायतका जनप्रतिनिधिहरुलाई पुस्तकालयको तर्फबाट सम्मान पनि गरिएको कार्यक्रममा संगमटोलबासी, त्रियुगा नगरपालिका ११ का सबै वडाका टोल विकास संस्थाका पदाधिकारी, नागरिक समाज, पत्रकार लगायतको उल्लेख्य सहभागिता थियो ।