
पूर्णपुष्टि, पुस ५ गते ।
संसद विघटनको प्रस्तावलाई आज राष्ट्रपतिले रोक्ला की भन्ने जनअपेक्षा थियो तर, त्यो पुरा भएन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएपछि जनअपेक्षा पुरा नभएको हो । विहान मन्त्री परिषद्को बैठकपछि प्रम ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजानुभएको थियो । यस्तो प्रस्ताव राष्ट्रपति समक्ष लगेको खबर लगत्तै सामाजिक सञ्जालहरुमा नागरिकहरुको तहबाटसमेत त्यो गलत हो भन्दै राष्ट्रपतिले रोक्ने आशा ब्यक्त गरेका थिए । तर, राष्ट्रपति भण्डारीले सिफारिसको आधारमा संसद विघटन गर्नुभएको छ ।
संसद विघटनसंगै राष्ट्रपति भण्डारीले आमनिर्वाचनको मिति समेत तोक्नु भएको छ । ताजा जनादेशका लागि भन्दै २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन तोक्नु भएको छ । अहिले प्रधानमन्त्री ओलीको यो कदम गलत भएको भन्दै कडा टिप्पणीका साथै विरोध भइरहेको छ ।
