Monday, July 6News That Matters

सन्दीप लामिछानेलाई डिप्रेशनको समस्या, कारागारभित्रै मनोपरामर्श

पूर्णपुष्टि, पुष १८
नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई डिप्रेशनको समस्या देखिएको भन्दै कारागारमै मनोपरामर्श दिन थालिएको छ । बालिका करणीको आरोपमा पूर्पक्षका लागि कारागार चलान भएका सन्दीपलाई बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमै गएर मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।
सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ। भदौ ६ गते उनी टी(२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सोही आरोपमा सन्दीप लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। ‘१५÷२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस गरेको थिएँ । त्यसैले बरिष्ठ मनोपरामर्शविदलाई लगेर केन्द्रीय कारागार गएँ । परामर्शपछि उहाँले सन्दीपको डिप्रेसन लेभल बढेको बताउनुभयो,’ उनले सन्दीपका वकिल घिमिरेले भने,‘ हामीले सोचेभन्दा पनि खराब स्थिति रहेछ। अब नियमित काउन्सिलिङ चाहिन्छ भन्ने उहाँको सल्लाह छ।’ लामिछानेमा नकारात्मक सोचाइ बढेको लगायतका समस्या देखिएको परामर्शविद् रेग्मीले आफुलाई बताएको घिमिरेले बताए ।

कारागारमा काउन्सिलिङका लागि छुट्टै कोठाको व्यवस्था नभएको पनि उनले बताए। त्यसले गर्दा प्रभावकारी काउन्सिलिङ दिन गाह्रो हुने उनको भनाइ छ। ‘हामीले नियमित काउन्सिलिङका लागि जेलरसँग अनुमति मागेका छौं। तर त्यहाँ कैदी बन्दीहरू सामूहिक बसेकै ठाउँमा गएर काउन्सिलिङ गर्नुपर्ने रहेछ। यस्तोमा त प्रभावकारी काउन्सिलिङ दिन नै गाह्रो हुन्छ। यो सन्दीपको लागि मात्र कुरा भएन अरूको पनि काउन्सिलिङ गर्नुपर्छ। काउन्सिलिङ गर्दा छुट्टै कोठा वा ठाउँको व्यवस्था हुन जरूरी देखिन्छ,’ उनले भने।