
उदयपुर, चैत १७ गते ।
“एभ्रेष्ट भ्यूटप भैचुङ – पर्यटनको केन्द्र लिम्चुङबुङ” भन्ने नाराका साथ उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पहिलोपटक हुन लागेको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव बारे आइतबार पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
एभ्रेष्ट भ्यूटप पर्यटन विकास समितिको आयोजनामा हुने महोत्सवलाई भब्यरुपले सम्पन्न गराउने उद्देश्यका साथ तयारीका विविध कार्यका साथ पत्रकार सम्मेलन गरिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नयाँवर्ष २०७६ को अवसरमा बैंसाख १ देखि पाँचदिनसम्म महोत्सव आयोजना हुनेछ । महोत्सवमा खास आकर्षण मौलिक सांस्कृतिक प्रदर्शनी, लोकप्रीय र चर्चीत गीतसंगीतका हस्तीहरुको उपस्थिति र प्रस्तुती, खेलकुद, हाँस्यब्यंग्य र साहित्व हुनेछन् । आकर्षणको रुपमा हेलिकेप्टरसमेत लैजाने र उद्घाटनमा सप्तकोशीको पानी उठाई हेलेसीधाममा चठाएर पुष्पबृष्टि गर्ने योजनासमेत रहेको जनाइएको छ । टिकट काटेर हेलिकेप्टर चढ्ने र हलेसीको दर्शन तथा सगरमाथाको रेन्जको अवलोकन गर्ने प्रवन्धसमेत मिलाउने तयारी भईरहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पालिका अध्यक्ष मेजरकुमार राईले सगरमाथा लगायत आठ ओटा हिमालको दृष्यावलोकन गर्न सकिने उदयपुरकै एकमात्र रमणीय स्थल एभ्रेष्ट भ्यूटप रहेको र लिम्चुङबङ सिंगो पालिका नै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले सोको प्रचार प्रसारका लागि महोत्सव उत्तम देखिएको बताए । सिधै पारीपट्टी प्रख्यात धार्मीक स्थल हलेसीधाम रहुनले पनि पालिकाको पार्यटकीय महत्व बढेकाले सबै कुराको विकाससंगै सडक, विजुली, सञ्चार जस्ता पूर्वाधारको विकासमा जोड दिइएको बताउदै महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।
आयोजक समितिका अध्यक्ष ज्ञानबहादुर राईले महोत्वलाई भब्य, सभ्यरुपमा सफल बनाउन समिति सक्रिय रहेको र तयारीका कार्य भईरहेको बताए । सांस्कृतिक तथा खेलकुद पक्षलाई जोड दिइने महोत्सवले लिम्चुङबुङको पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गर्दै अध्यक्ष राईले पहिलोपटक एउटा सुन्दर दुर्गम ठाउँमा हुन लागेको सांस्कृतिक पर्यटन महोत्सव अवलोकन गर्न सबैमा आग्रह गर्नुभयो । सांस्कृतिक फाँटतर्फ विभिन्न जातजातीका जातीय झाँकीहरु, खेलकुदतर्फ विभिन्न खेलहरु प्रतियोगिताको रुपमा सञ्चालन हुनेछन् । साथै राष्टिय तथा स्थानीय कलाकारहरुको गायन, नृत्य, हाँस्यब्यांग्य जस्ता सांस्कृतिक बजेट प्रस्तुतीहरु र दमदार साहित्यिक कार्यक्रमसमेत सन्चालन हुने जानकारी दिए ।
महोत्सव हेर्न जान आउनका लागि सहज होस् भन्ने हेतुले सडक मर्मत सुधार, स्तरोन्नतीको काम तत्काल गर्ने र सवारी साधन बृद्धि गरिने जनाइएको छ ।
महोत्सवको प्रचार प्रसार तथा पालिकाको पहिचान झल्काउने भेष्ट, झोला, खादा र गहनाजन्य सामग्रीहरु पनि बनाइएका छन् । पत्रकारहरुकाबीच ती सामग्रीहरु पालिका अध्यक्ष राईले सार्बजनिक गर्दै पत्रकारहरुलाई उपहार स्वरुप प्रदान गरेका थिए । उदयपुरको सबैभन्दा अग्लो स्थानमा हुन लागेको सो महोत्सवको विशेष महत्व रहने आयोजकको विश्वास छ ।