Thursday, April 24News That Matters

सय वर्षपछि रौतामा हिमपात

उदयपुर, फागुन १८ गते ।

नेपाल मात्र नभई भारत लगायत छिमेकी देशका भक्तजनहरुको धार्मीक गन्तब्य बनेको उदयपुरको प्रमुख पर्यटकीय एवम् धार्मीक स्थल रौता पोखरी लामो समयपछि हिउँले सजिन पुग्यो ।

स्थानीयका अनुसार बाजे–बराजुको पालापछि अर्थात झण्डै सयवर्षपछिको हाराहारीमा रौतापोखरी र आसपासका गाउँठाउँ, बनपाखा हिउँले सजिसजाउ बनेको हो ।

२०७५ फागुन १६ गते एक्कासी यो सौभाग्य मिल्यो । जुन दिन उदयपुर जिल्लाका पहाडी लेखतर्फ अत्याधिक हिउँ प¥यो भने तल्लो तथा तराईका भुभागमा अहिलेसम्मकै धेरै असिना पर्यो । उक्त दिन देशभरी नै अत्याधिक हिउँ परेको थियो । सदरमुकाम गाईघाटदेखि नै रौताको डाँडापाखा सेतै सजिएको रमणीय दृष्य देख्न पाइयो । कसैले नसोचेको यो एउटा प्राकृतिको अनुपम क्षणको आनन्द लिन मानिसहरु रौतासम्म उक्लिए ।

हिउदे जाँडो विदा हुदैगर्दाको अवस्थामा परेको हिउँ र असिनाले जाँडो फर्काएकोछ । स्थानीयले भने हिउँ र असिना वर्षातलाई शुभ लक्षणको रुपमा लिएका छन् । यो मौसममा परेको हिउँ र असिनाले अव लगाइने बालीनाली सप्रिने विश्वास पुरानै हो । त्यस हिसावले किसानहरु उत्साहित देखिएका पनि छन् ।

हिउँ र असिना पर्ने उक्त दिन एकाविहानै भने आकास एकदमै कालोमैलोले मडारिएको थियो । बिहान  र दिउसो केहीबेर अन्धकार नै छाएर हुण्डरीसमेत चलेको थियो । कुनै पनि प्रकारको क्षती भने व्यहोर्नु नपरेकाले स्थानीयले उक्त दिनलाई शुभदिनको रुपमा ग्रहण गरे । हिउँ र असिनासंग खेलेको उक्त दिन सबेको मनसपटलमा अविष्मरणीयरुपमा रहेको छ |