
पूर्णपुष्टि, भदौ २७
सरकारले दुई लाख रोजगारी थप्ने तयारी थालेको छ । कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको हो ।
कम्तीमा दुई लाखका लागि एक सय दिनको रोजगारी दिने गरी बजेट व्यवस्था भएकोमा बजेट थपका लागि समेत गृहकार्य गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने योजना बनाएको सरकारले यो कार्यक्रममा कोरोनाका कारण स्वदेश वा विदेशबाट रोजगारी गुमाएकालाई प्राथमिकता दिन थालेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आवमा मा ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन भएकामा कोरोनाले स्वदेश वा विदेशमा बेरोजगार सङ्ख्या बढाएकासँगै नयाँ रोजगारीका लागि थप बजेटको विषयमा पनि अर्थ मन्त्रालयसँग कुरा भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
स्थानीय सरकारले तयार गरेका आयोजनामा विदेश वा स्वदेशमा रोजगारी गुमाएकालाई प्राथमिकताका आधारमा रोजगारी दिन सकिने छ ।
कार्यक्रमको उद्देश्य नै बेरोजगार, गरिब, विपन्नलाई प्राथमिकताका आधारमा रोजगार दिने भएकाले स्वदेश वा विदेशबाट रोजगारी गुमाएर बेरोजगार भएका जो कोही आफ्नो स्थानीय तहको बेरोजगार सूचीमा सूचीकृत भएर यस रोजगार कार्यक्रममा सहभागी हुनसक्ने जनाईएको छ ।
श्रम मन्त्रालयले पनि कोरोनाले रोजगारी गुमाएकालाई अन्य माध्यमबाट रोजगारीका विकल्पका विषयमा विभिन्न सरोकारवाला निकायसँग छलफल चलाइरहेको छ । विदेश जाँदा ऋण गरेर गएको व्यक्ति रोजगारी गुमाएर स्वदेश फर्किएकाले त्यस्ता व्यक्तिको पहिचान गरेर रोजगारी दिनुपर्छ भन्ने सरकारको योजना रहेको मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रममार्फत १५ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई श्रममूलक कार्यमा लगाई सय दिनको रोजगारी दिने जनाईएको छ ।
स्थानीय तहबाट छनोट गरिएकाले मर्मतसम्भार आयोजना र सामुदायिक पूर्वाधारका २० आयोजनामा श्रम गर्ने छन् । रोजगारीको अवसर सिर्जना गर्न, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्न र स्थानीयवासीको पूर्वाधार निर्माणमा अपनत्व बढाउन उक्त कार्यक्रम ल्याइएको हो ।
पारिश्रमिकमा आधारित सामुदायिक यस कार्यक्रममा सहभागी भएका व्यक्तिले प्रतिदिन ५ सय १७ रुपियाँका दरले ज्याला प्राप्त गर्ने छन् । बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूतिमार्फत रोजगारीको हक कार्यान्वयन गर्ने उद्देश्यले सरकारले आव २०७५/७६ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आएको छ ।
यस कार्यक्रममार्फत आर्थिक वर्ष २०७६/७७ मा ८२ हजार ६ सय ३८ बेरोजगार व्यक्तिले १३ लाख २७ हजार ६ सय ५९ दिनको रोजगारी प्राप्त गरेका छन् । ती रोजगार प्राप्त गरेका व्यक्तिबाट सो अवधिमा चार हजार ५ सय ७९ आयोजना सम्पन्न भएका छन् । देशभर रहेका ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय १ वटा तहबाट यो सङ्ख्याका बेरोजगारले रोजगारी प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

