Monday, March 17News That Matters

सरसफाई सप्ताह शुरु भएकै दिन ४५ टन फोहोर उठाइयो

केदार मगर/खोटाङ, ५ पुस गते

सफा र सुन्दर नगर बनाउन सरसफाई सप्ताह शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाबाट पहिलो दिनमै ४५ टन फोहोर उठाइएको छ । नगरपालिकाभित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट बुधबार एकै दिन ४५ टन फोहोर उठाइएको हो ।

दिक्तेलस्थित रत्नपार्कबाट शुरु गरिएको अभियानमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ (क)का राजन राई र क्षेत्र नम्बर २ (ख)का रामकुमार राई (पासाङ)ले सडकमा थुप्रिएको फोहोर उठाएर अभियानको उद्घाटन गर्नुभएको थियो । बजार वरपर जथाभावी फालिएको फोहोर उठाएर सोही नरगरपालिकाको वडा नम्बर ५ लफ्याङस्थित व्यवस्थापन केन्द्रमा पु¥याएर फालिएको छ ।

फोहोर नहटाएसम्म नगरपालिकालाई सफा र सुन्दर बनाउन नसकिने भएकाले वर्षौंदेखि थुपारिएको फोहोर हटाउन अभियान थालिएको नगर प्रमुख दिपनारायण रिजालले बताउनुभयो । “वर्षौंदेखि थुप्रिएको फोहोरलाई हटाएर सरसफाईका नियमित कामलाई निरन्तरता दिने योजना बनाएका छौं ।” उहाँले भन्नुभयो, “अभियानमा व्यवसायी, शिक्षण संस्था, स्थानीयवासी लगायतले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।”

दिक्तेलबजारबाट शुरु गरिएको सरसफाई सप्ताह १५ वटै वडामा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । पाँच वर्षभित्र नगरपालिकालाई सफा र सुन्दर बनाउने अभियानका साथ सरसफाई अभियान थालिएको हो ।

सरसफाईलाई निरन्तरता दिन जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङको संयोजकत्वमा नगर प्रमुख रिजाल, प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु र नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले सरसफाई सम्बन्धी गतिविधिको अनुगमन गर्दै सरसफाईयुक्त कार्यालय, शिक्षण संस्था, सफा घरलाई पुरस्कारका लागि सिफारिस गर्ने जनाइएको छ ।