Wednesday, May 20News That Matters

सर्वोच्चमा मुद्दा फछ्र्योट दर घट्दै

भदौ १४ गते ।

वार्षिक लक्ष्यअनुसार जिल्ला र उच्च अदालतले मुद्दा फछ्र्योट गर्न सफल भएपछि सर्वोच्च अदालतमा पनि मुद्दा फछ्र्योट दर घटेको छ ।

गत आर्थीक वर्षमा सर्वोच्चमा मुद्दा फछ्र्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फछ्र्योट दर घटेको हो । मुद्दा तथा रिटको फछ्र्योट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ । २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो ।

यस वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ । विश्लेषण अनुसार उच्च र जिल्ला अदालतमा भने फछ्र्योट दरमा सुधार आएको छ । उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ । तर विश्लेषण सहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको छैन ।

अघिल्लो वर्षको तुलनामा सर्वोच्चको मुद्दा फछ्र्योटको सङ्ख्या र प्रतिशत दुवै घटेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए । अन्य अदालतहरूको हकमा भने वार्षिक लक्ष्यअनुसार फछ्र्योट भएको उनले बताए ।

सर्वोच्चमा मुद्दा तथा रिटको लगत २०७५ असार मसान्तसम्म कुल ३० हजार ४ सय ८९ रहेकोमा ११ हजार २८ फछ्र्योट भएका थिए । जसमा जिम्मेवारी सरेका मुद्दा २० हजार ९ सय ८८ थान रहेको थियो । कुल मुद्दामा १९ हजार ४सय ६१ थान मुद्दाको जिम्मेवारी सरेको हो । कुल मुद्दाको ३६ प्रतिशत मुद्दा फछ्र्योट भएको थियो ।

सर्वोच्च अदालतमा जिम्मेवारी सरेकासहित जम्मा ३२ हजार ६ सय ६ मुद्दा दर्ता भएका थिए । जसमा नौ हजार २ सय ६ मुद्दा फछ्र्योट भएका छन् । कुल मुद्दा अनुसार फछ्र्योट दर २८ प्रतिशत हो । वार्षिक लक्ष्य भने १७ हजार ७ सय ९९ को थियो ।

सर्वोच्चमा दुई वर्ष नाघेका मुद्दा ९ हजार ५ सय ७५ छन् । डेढ वर्ष नाघेका मुद्दा ११ हजार १ सय ६५ रहेका छन् । अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत कम फछ्र्योट भएका छन् । नयाँ दर्तातर्फ भने अघिल्लो वर्षको तुलनामा ३ हजार ६ सय ३८ भन्दा बढी मुद्दा दर्ता भएका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।