Wednesday, July 1News That Matters

साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

पूर्णपुष्टि, असार ३०

डोटीमा साढे ३ करोड ऋण पास गरिदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।  आदर्श गाउँपालिका–३ की ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र दार्चुला जिल्लाको लेकम गाउँपालिका–१ का ३२ वर्षीय पदमराज भट्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख रुपैयाँ दिएमा साढे ३ करोड रुपैयाँको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवैजनालाई डोटीको दिपायल सिलगढी नगरापलिका–४ पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जिप्रका डोटीले जनाएको छ ।