Monday, February 17News That Matters

सानै उमेरमा १७ प्रतिशत किशोरी आमा

नेपालका १७ प्रतिशत किशोरीहरू अझै पनि सानै उमेरमा आमा बन्ने गरेको तथ्याङ्कले देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोर किशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्ष समुहका १७ प्रतिशत किशोरीहरु आमा बन्ने गरेको उल्लेख गरेको हो ।

सन् २०१६ को जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भेक्षणले नेपालमा १७ प्रतिशत किशोरीहरुको विवाह औसत उमेर भन्दा कमै हुने गरेको देखाएको छ ।

उमेरै नपुगी विवाह गर्नाले बालविवाह र सानै उमेरमा आमा बन्नेको सङ्ख्यामा कम हुन नसकेको देखिन्छ । सर्वेक्षणले १५ देखि १९ वर्षका किशोरीहरूको उमेर अनुसारको प्रजनन् दर एक हजारमा ८८ जना देखिएको छ भने  २०११ को तथ्याङ्कमा एक हजारमा ८१ देखिएको थियो ।

परिवार नियोजनको आपूर्ति तथा  माग २४ प्रतिशत देखिन्छ तर यो माग १५ देखि १९ वर्षका किशोरीहरुमा बढेर ३५ प्रतिशत पुगेको देखिएको छ ।  २०१६ को सर्भेक्षणले गर्भनिरोधक साधनहरुको उपयोग राष्ट्रिय औसत ४३ प्रतिशतको तुलनामा विवाहित किशोरा किशोरीहरुले कम उपयोग देखिन्छ जुन १४.५ प्रतिशतले मात्र उपयोग गरेको देखिन्छ ।

सर्वेक्षणले १५ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरी मध्ये १८.३ प्रतिशत किशोरीमा र २४.३ प्रतिशत किशोरमा एचआईभी सङ्क्रमण सम्बन्धी बृहत् ज्ञान भएको तथ्याङ्कले देखाएको छ ।

नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता दिइए पनि योजना बिना गर्भवती हुनेको सङ्ख्या ठूलो छ । १५ देखि १९ वर्षका किशोरी मध्ये ४०.९ प्रतिशतलाई मात्रै सुरक्षित गर्भपतन सेवाको जानकारी भएको देखिन्छ । ३१.१ प्रतिशत मातृ मृत्युदर मध्ये २० वर्ष भन्दा कम उमेरका किशोरीहरु रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।