Monday, February 17News That Matters

सामाजिक कार्यका लागि उज्वल स्मृति प्रतिष्ठान स्थापना

उदयपुर, असार १५ गते ।

उज्जल स्मृति प्रतिष्ठान, उदयपुरले आईतबार गाईघाटमा एक कार्यक्रमको आयोजना गरी स्वर्गिय उज्वल अधिकारीको स्मृतिमा विभिन्न सामाजिक कार्यहरु गर्दै जाने उद्घोष गरेको छ ।

त्रियुगा नगरपालिका १० बोक्सेका स्व. उज्वलको परिवार, साथीभाइ, आफन्तजन र शुभचिन्तकहरुको पहलमा स्थापना भएको प्रतिष्ठानको सार्बजनिकीकरण तथा श्रद्धाञ्जली सभा कार्यक्रमसंगै यस्तो उद्घोष गरिएको हो ।

स्व. बुवा मदनबहादुर अधिकारी र आमा रत्नमाया अधिकारीको कान्छो सुपुत्र उज्वलको अध्ययनको सिलसिलमा दक्षिण कोरियामा २०६८ असार १५ गते स्वर्गरोहण भएको थियो । सानैदेखि पढाईमा तिष्ण गुण भएका अतिमिलनसार स्वभावका उज्वल सामाजिक कामप्रति रुची राख्दथे । सामाजिक क्षेत्रमा अभिरुची भएका उज्वललाई सामाजिक कामहरुको माध्यमबाट सदा स्मृति गर्न प्रतिष्ठान स्थापना गरिएको हो ।

प्रतिष्ठानले विविध सामाजिक कामहरुका साथै समाज विकास र रुपमान्तरणमा विशेष योगदान पुर्याउने संस्था तथा व्यक्तीहरुलाई पनि हरेकवर्ष पुरस्कृत तथा सम्मान गर्दै जाने कुरा पनि उद्घोष गरेको छ । सोही अनुरुप प्रतिष्ठानले पहिलोवर्ष पूर्णपुष्टि मिडियालाई नगद ५० हजारसहित पुरस्कृत तथा सम्मान गरेको छ ।

कार्यक्रममा १ नं. प्रदेश सांसद बिमल कार्कीले प्रतिष्ठानको विधान र कार्य समितिको नाम वाचन गर्दै प्रतिष्ठान सञ्चालनमा आएको कुरा सार्बजनिक गर्नुभयो भने स्व. उज्वलकी आमा रत्नमायाले पूर्णपुष्टिका प्रकाशक भोटराज राईलाई पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कार्कीले उज्वलको विगतलाई स्मरण गर्दै उनी नाम मात्रको उज्वल नभई, उज्वल प्रतिभाको धनी रहेको बताउनुभयो । अरुभन्दा अब्बल स्वभावका अध्ययनसिल र प्रगतिशिल उनको व्यक्तित्व र व्यवहार सधै स्मरणमा आइरहने बताउनुभयो । थोरै भएपनि प्रभावकारी कार्य गर्न सुझाव दिदै उहाँले प्रतिष्ठानको सुरुवातीमै पूर्णपुष्टिलाई समाजप्रतिको उत्तरदायित्व र कर्तब्य बोध गराउदै पुरस्कृत गरेकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले पत्रकारिताले गम्भिररुपमा समाजप्रति उत्तरदायी र कर्तब्यनिष्ठ हुनुपर्ने सुझाव राख्नुभयो ।

प्रतिष्ठानले पूर्णपुष्टिलाई पुरस्कृत गरेर समाजप्रति थप उत्तरदायी र जिम्मेवार बनाएको प्रकाशक भोटराज राईले बताउनुभयो । स्थापना कालदेखि नै समाज र जनताप्रति जवाफदेखि, जिम्मेवार हुदै आएको पूर्णपुष्टि यतिबेला नयाँ ब्यवस्थापनका साथ नयाँ कार्यालय स्थापना गरी संस्थागत विकासमा अग्रसर रहेको बताउदै प्रकाशक राईले उज्वल पुरस्कार पूर्णपुष्टिमात्र नभई सिंगो समाज, उज्वल जस्तै युवाहरुको लागि भएको बताउनुभयो । उज्वल पुरस्कारले उज्जल पत्रकारिताको मार्गनिर्देश गरेको भन्दै उनले पत्रकारिताको धर्म नटेकी मर्यादीत र ब्यवसायिक पत्रकारितामा निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

परिवारजन, आफन्त, साथीभाइ, शुभचिन्तक, समाजसेवी, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रममा उज्वलको स्मृति गर्दै एकमिनेट मौनधारण गर्नुका साथै उनको तस्बिरमा फुलमाया, अबीर लगाई श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

स्व. उज्वलका दाजु रोशन अधिकारीको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानको उपाध्यक्ष कल्पना अधिकारी थापा, सचिव राजेन्द्र अधिकारी, कोषाध्यक्ष मीरा खड्का विष्ट रहेका छन् । त्यस्तै सदस्यहरुमा राजु अधिकारी, उज्जल पोखरेल, लक्ष्मीकुमारी खत्री, गौतम थापा र सागर श्रेष्ठ रहेका छन् । त्यस्तै सल्लाहकार समितिको अध्यक्षमा धरमबहादुर अधिकारी, सदस्यहरु नारायण खड्का र विष्णु खतिवडा रहेका छन् ।

https://www.youtube.com/watch?v=fJCt3g2iN3g

फोटो फिचर