
भोजपुर, असार ३० गते ।
भोजपुरको सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ परेको छ । जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान ईटहरीको टोलीले पक्राउ गरेको हो ।
प्रमुख ईन्जिनियर यादवले उपभोक्ता समितिबाट घुस लिंदै गर्दा घुस पैसा सहति रङ्गे हात दिउँसो करिब १२ बजे अख्तियारको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ ।
षडानन्द नगरपालिका – १३ को छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले घुस रकम लिएको अख्तियारले जनाएको छ ।
करिब ९८ लाख रुपैयाँ लागत रहेको आयोजनाको चालु आर्थीक वर्षमा १७ लाख ८७ हजार एक सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उक्त आयोजनाको कामका २० प्रतिशत कमिशन ईन्जिनियर यादवलाई दिए मात्र मूल्यांकन गरि बील पास गरिदिने बताउँदै आएको उपभोक्ता समितिका एक सदस्यले बताए ।
कार्यालय नजिकै रहेको फुपु भदैनी खाजा घर एण्ड लजबाट घुस रकम सहित इन्जिनियर यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
ईन्जिनियर यादवले भोजपुर नगरपालिका – १० भैंसीपंखा खुरिलाको सिञ्चाई आयोजनाको भुक्तानी तथा फरफराकमा आलटाल गरेपछि अख्तियारलाई गुहारेको सिञ्चाई आयोजनाका उपभोक्ताले जनाएको छ ।