सिन्कौली विक्रि नहुदा गाउँले चिन्तित

उदयपुर, मंसिर ११ गते ।

उदयपुरको सिन्कौली विक्रि वितरण हुन छाडेपछि पहाडी भेगका सिन्कौली कृषकहरु चिन्तित भएका छन् । रौतामाई गाउँपालिकाको अधिकांश गाउँ बस्तिको सिन्कौली विक्रि हुन छाडेपछि कृषकहरु चिन्तित भएका हुन् ।

पालिकाको धोद्रे, खाँनीडाँडा, दुकुर्चुङ, मझौले, बाछाला, मलबासे लगायतका पहाडी क्षेत्रको सिन्कौली विक्रि नभएको स्थानीहरुले बताएका छन् । सिन्कौली अर्थात दालचिनि भनेर चिनिएको पहाडमा पाईने एक जडिबुटी तथा विशेष मसला सिन्कौली अहिले विक्रि वितरण हुन छाडेको स्थानीयहरुले बताएका छन् । सिन्कौलीलाई जडिबुटी र विशेष मसलाको रुपमा प्रयोग गरिन्छ ।

पहाडी भेगमा हुने सिन्कौलीको पात र बोक्रा विक्रि हुने गरेको स्थानीय निरबहादुर राईले बताए । देश विकाससँगै सडकको पहुचले करिब १२ वर्षदेखि सिन्कौलीले राम्रो भाउ पाउँदै आएको थियो । तर गत वर्ष अलि–अलि विक्रि वितरण भएको सिन्कौली यसपालि भने विक्रि वितरणमा ठप्प भएको स्थानीय राई बताए । सिन्कौली विक्रि हुन छाडेपछि चामल खाने बाटो नै बन्द भएको उनले बताए । उनले भने ‘सिन्कौली बेचेर चामल किनेर खाने गरेको तर अहिले त सिन्कौली विक्रि हुन छाड्यो, अब चामल कसरी खानु हो ।’

बारिमा लगाएको अन्नबाली बाँदरले खाएर नष्ट गर्ने र छेउछाउको सवै बारीमा सिन्कौली लगाएको भएपनि विक्रि हुन छाडेपछि त्यो सिन्कौली निल्नु न ओकल्नु भएको स्थानीय राईले बताए । गाउँ घरमा कतिपयले व्यावसायीक रुपमै सिन्कौली खेति गर्न थालेकाहरु मारमा पर्दै गएको उनले बताए ।

गत वर्षसम्म सिन्कौलीको सुकेको पात प्रति केजी ४० रुपैयाँले विक्रि हुने गर्दथ्यो । सिन्कौलीको स–सानो हाँगा भाँचेर सुकाएर पात चुँडेर बोरामा हालेर (खाँदेर) सडकको पहुच पुगेको ठाउँसम्म मात्रै पु¥याएपनि विक्रि हुने गरेको स्थानीय कमलबहादुर राईले बताए । उनले भने ‘प्रतिघर करिब एक सय ५० बोट भन्दा बढी नै सिन्कौली छ, तर विक्रि वितरण नहुदा गाउँलेलाई घरपरिवार चलाउन समस्या हुन थालेको छ ।’

सिन्कौलीबाट नै थोरैमा पनि करिब ४०–५० हजार प्रतिघरले आम्दानी गर्दै आएको थियो । नाजुक आर्थीक अवस्था हुनेहरुको लागि मुख्य आम्दानीको श्रोत भनेकै सिन्कौली भएको स्थानीय राईले बताए । सिन्कौलीलाई मल, जल र गोडमेल गर्नु नपर्ने भएकाले पनि यसको व्यावसायीक खेती गर्नका लागि पनि अति सजिलो हुने उनले बताए ।

स्थानीय राईले भने ‘सिन्कौली पाखा पखेरामा पनि हुन्छ । विरुवा रोपेपछि गाई वस्तुले नखाएमा तेतिकै मर्दैन, अहिलेसम्म सिन्कौलीमा कुनै त्यस्तो प्रकारको रोग पनि देखा परेको छैन । तर गाई बस्तुबाट विरुवा जोगाउँन गाह्रो हुन्छ । त्यसैले विरुवालाई बारबेर गरी संरक्षण गर्नु पर्दछ । गाई वस्तुले त्यसको मुन्टा खान नभेट्ने भएपछि कुनै मेहनत गर्नु नपर्दैन ।’

सिन्कौलीको पात र बोक्रा विक्रि हुन्छ । त्यसपछि रहेको काठ दाउँराको रुपमा प्रयोग गर्न सकिने स्थानीय राईले बताए । बेर्ना उत्पादन गर्नका लागि यसको दाना पनि विक्रि हुने गरेको छ । तर वर्षेनी हाँगा भाचेपछि दाना उत्पादन हुदैन । दाना उत्पादन गर्नका लागि २–४ वर्ष हाँगा भाच्न नहुने गरेको उनले बताए ।

गाउँको सिन्कौली विक्रि हुन छाडेपछि चामल खानकै लागी भएपनि घर छाडेर परदेश धाउन पर्ने बाध्यता आएको छ । आर्थीक अवस्था कमजोर भएकाहरुले सिन्कौली अधिया गरेरै पनि चामल खाने बाटो भएको स्थानीय राईले बताए । उनले भने ‘सिन्कौलीको पात चुड्दा जति दुःख हुन्छ, त्यसको सहि मुल्य नपाएपनि घरपरिवार चलाउनका लागि सहज वातावरण सिर्जना गरेको थियो ।’

सिन्कौलीको पातहरुले झुप्प परेको स–सानो हाँगा भाँचेर सुकाएर मसिनो मुठा बाँधेर भाटाले दुई पटि चेपेर बनाएको भारी (खुर्सीङ भारी) नाम्रि र खकनको सहायताले थाप्लोमा बोकेर पहिला–पहिला लहानसम्म लगेर बेच्ने गरेको स्थानीय जेष्ठ नागरिक नैनबहादुर राईले बताए । उनले भने ‘हामीले नुन लिनकै लागि सिन्कौलीको खुर्सीङ भारी बोकेर हप्ता दिनको बाटो लहान लगेर केहि रुपैयामा भारी बेचेर नुन किनेर ल्याएने गर्दथ्यौँ ।’

स्थानीय जेष्ठ नागरिक राईले भने ‘अहिले गाउँ घरमै रोड आएकाले घर नजिकै सिन्कौली विक्रि हुन्छ । पहिला हामीले जस्तो हप्ता दिनको पैदल बाटो हिड्नु पर्दैन । तर किन यसपालि विक्रि नभएको हो त्यो चै थाहा भएन ।’ रोड आएपछि सिन्कौली पनि राम्रो विक्रि हुन थालेको थियो । गाउँलेलाई पनि घर परिवार चलाउन सहज भएको थियो उनले बताए ।

सिन्कौली ठेकेदारहरुले नै सिन्कौली विक्रि हुन छाडेको छ भने पनि गाउँको सिन्कौली त्यतिकै बोटमै रहेको स्थानीय युवा कैलाश राईले बताए । उनले भने ‘गत वर्षपनि अलिक ढिलो नै सिन्कौली लिन थालेको थियो । तर निकै वर्ष भयो सिन्कौलीको एउटै भाउ रहेको छ । भाउ बढाई माग्दा अर्को वर्ष भन्ने गरेको तर त्यो वर्ष पनि उहि भाउमा खरिद गर्ने गरेको छ ।’

सिन्कौली विक्रि नहुदा गाउँघरमा आर्थीक समस्या आएको स्थानीय युवा राईले बताए । सडक गाउँ घरमै आएकाले पहिला जस्तो सदरमुकाम गाईघाट बजार लैजाने चलन हराएकाले सिन्कौली बोटमै रहेको छ । ठेकेदारहरुले यसपालि किन सिन्कौली खरिद नगरेको भन्ने वास्तविकता थाहा नपाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: