Tuesday, January 14News That Matters

सुनकोसीलाईपछि पार्दै बेलका सेमिफाइनलमा

पूर्णपुष्टि, माघ ११ गते ।

उदयपुरमा बिहीबारबाट सुरु भएको ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ को उद्घाटन खेलमा बेलका नगरपालिका विजयी भएको छ ।

सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा आयोजित प्रतियोगितामा सुनकोसी गाउँपालिकालाई पराजित गर्दै बेलकाले आफ्नो सेमिफाईनल यात्रा तय गरेको हो । वेष्ट अफ फाईभमा खेलाइएको उक्त प्रतियोगितामा बेलकाले पहिलो सेटमा २५–२२, दोस्रोमा २५–२३ थियो ।

लगातार दुई सेट जितिसकेको बेलकाले तेस्रो सेटमा सोचेअनुरुप खेल प्रर्दशन गर्न सकेन् । बेलकाको खराव प्रर्दशनलाई मौका उठाउँदै सुनकोसीले तेस्रो सेटमा २५–२१ ले जित हात पार्यो । अन्तत तेस्रो सेटको जितलाई सुनकोसीले चौथोँ सेटमा कायम राख्न सकेन् । चौथोँ सेटमा बेलकाले २५–१९ ले पछि पार्दै उद्घाटन खेलको जित हात पारेको हो ।

यसैगरी बिहीबार हुने भनिएको अर्को खेलमा उदयपुरगढी गाउँपालिकाले उपस्थिति नजनाएपछि आयोजक उदयपुर स्पोर्टस क्लव गाईघाट सिधै सेमिफाईनलमा प्रवेश गरेको छ । खेल तयारीसँगै टाईसिटसमेत प्रकाशन गरिसकेको अबश्थामा उदयपुरगढीले प्रतियोगितामा सहभागिता नजनाएकाले प्रतिसपर्धिलाई सिधै सेमिफाईनमा जाने यात्रा सहज भएको उदयपुर स्पोर्टस क्वलका अध्यक्ष आसन दाहालले बताए ।

उद्घाटन खेलको जितसँगै बेलकाले अब सेमिफाईनल खेल १२ गते दिउँसो २ः३० बजे चौदण्डीगढी नगरपालिका र ताप्लि गाउँपालिकाबाट विजयी भएका समुहसँग भिड्ने आयोजक समितिका सदस्य प्रदिप श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार १२ गते विहान ८ बजेको पहिलो खेल कटारी नगरपालिका र रौतामाई गाउँपालिका विच हुने छ भने दोस्रो खेल ९ः३० बजे चौदण्डीगढी नगरपालिका र ताप्लिपोखरी गाउँपालिका विच हुने छ । दिउँसो १ बजेको खेल कटारी र रौतामाईबाट विजयी भएको समुहसँग त्रियुगा नगरपालिकाले प्रतिसपर्धा गर्ने श्रेष्ठले जानकारी दिए ।

जिल्लाका ८ स्थानीय तहमध्ये ७ र १ आयोजकले सहभागिता जनाएको प्रतियोगिताको फाईनल खेल १३ गते हुने छ । उदयपुर स्पोर्टस क्लवको आयोजना तथा त्रियुगा नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिवल संघको संयोजनमा भएको हो ।

प्रतियोगितामा विजेता समुहले नगद ६५ हजार, उपविजेताले ३५ र तेश्रो स्थान हासिल गर्नेले २० र सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, सर्वोत्कृष्ट विद्यामा २/२ हजारका दरले नगद, मेडल, ट्रफी, शिल्ड पाउने मुल समारोह समितिका संयोजक तथा जिल्ला भलिवल संघका अध्यक्ष प्रथमलाल चौधरीले जानकारी दिए ।

उदयपुर सिमेण्ट उद्योग मुल प्रायोजक रहेको प्रतियोगितामा विभिन्न निकायबाट प्राप्त हुने ८ लाख ८९ हजार रुपिँया खर्च हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन उदयपुर प्रतिनिधिसभा २ अन्र्तगत रहेको प्रदेश १ का सांसद नारायण बुर्जा मगरले गरे । त्यसक्रमा उनले खेलकुद क्षेत्रलाई राज्यले लगानीमा कन्जुस्याई गरेको आरोप लगाए । उनले राज्यले उचित व्यवस्थापन गर्न नसक्दा खेल क्षेत्रको बृद्धिविकास हुन नसक्नुका साथै सोचेअनुरुप प्रगति हासिल गर्न नसकेको बताए ।