Wednesday, July 1News That Matters

सुरक्षाकर्मीको गोली लागेर ५१ जना बालबालिकाको मृत्यु

बैशाख ३

म्यानमारमा सुरक्षाकमीको दमनबाट कम्तीमा ५१ जना बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरुको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीले गरेको आक्रमणका क्रममा उनीहरूको ज्यान गएको जनाएको छ ।

गत फेब्रुअरी १ देखि अहिलेसम्म म्यानमारमा आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट मारिएकामध्ये कम्तीमा ५१ जना बालबालिका रहेका राष्ट्रसंघले जनाएको छ । आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि जनाईएको छ ।

हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको छ । पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ ।

तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो । आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म ७०७ जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।