Thursday, May 28News That Matters

सुरक्षा प्रमुखहरूलाइ राहत वितरणमा भीड नियन्त्रण गर्न र स्थानीय सरकारलाइ राहत घरघरमै पुर्याउन मुख्यमन्त्रीको निर्देशन

पूर्णपुष्टि, चैत २९ ।

१ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले राहत वितरणमा हुने भिड हटाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै राहत घरघरमा पुर्याउने व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । राहत वितरण गरिरहेका स्थानीय सरकारहरुसमेतलाई लक्षित गर्दै मुख्यमन्त्री राईले सुरक्षा प्रमुखहरुलाई भिड हटाउन निर्देशन दिनुभएको हो ।

शुक्रबार नै बसेको सुरक्षा परामर्श समितिको बैंठकमा उहाँले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।

अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घरघरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।

विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्वय गरेर व्यवस्थापन गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।  त्यस्तै मानिसलाई आवत जावत गर्ने पास वितरणमासमेत कडाइ गर्न र अन्य प्रदेशमा जानैपर्ने र अन्य प्रदेशबाट यहाँ ल्याउनै पर्नेको विवरण तयार गर्न निर्देशन समेत गर्नुभएको छ ।

संक्रमण भित्रन नदिन भारतीय सीमामा कडाइ गर्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री राइले नयाँ योजनाका साथमा सीमा नाकाहरुमा कडाइ गरिने बताउनुभयो । यसका लागि  तयारी गर्न समेत सबै सुरक्षा निकायलाई उहाँको निर्देशन छ ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ लाई सुरक्षित राख्न प्रदेशका सबै निकायले आफ्नो ठाउँमा स्रोत र साधनको अधिकतम सदुयोग गर्नुपर्ने बताउनुभयो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख साथै झापा, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारीले प्रदेश र आफ्नो आफ्नो जिल्लाको लकडाउनको प्रभाव, सुरक्षा, आपूर्ती व्यवस्था, राहात वितरण लागायतको अवस्थाका बारेमा जानकारी गराएका थिए ।