
काठमाडौं – सरकारले चाडपर्वको अवसरमा सञ्चालन गर्ने सुपथ मूल्य पसलमा घिउ र पनिरमा पनि छुट दिने भएको छ । आईतबार आपूर्ति मन्त्री शिव कुमार मण्डलको उपस्थितीमा बसेको सुपथ मूल्य पसल सञ्चालन सम्बन्धि सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपैयाँ छुट दिने निर्णय गरेको छ । उक्त छुट चाडपर्वमा सञ्चालन हुने सुपथ मूल्य पसलहरुमा दिईने छ ।
त्यसैगरी बैठकले नेपाल खाद्य संस्थान र साल्ट ट्रेडिङ्गले सञ्चालन गर्ने सुपथ मूल्य पसलहरुमा आलु र प्याज लगायतका तरकारी पनि सहुलियतमा उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा खुद्रा मूल्य भन्दा सस्तोमा आलु र प्याज उपलब्ध गराउने नेपाल फलफूल तथा तरकारी बजार महासंघका अध्यक्ष खोम प्रसाद घिमीरेले बताउनुभयो । ‘होलसेल मूल्यमा ढुवानी भाडा जोडेर थोरै मात्र नाफामा विक्री गर्ने व्यवस्था गरीने छ’ उहाँले भन्नुभयो ‘लसुन, अदुवा, खुर्सानी लगायतका तरकारी पनि उक्त बजारमा राख्ने प्रयास गर्ने छौँ ।’
मछामासु व्यवसायीले पनि चाडवाडमा माछामासु पसल सफा सुग्घर राख्ने र सहज तरीकाले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । छलफल गरेर सकेसम्म चाडवाड विशेष छुट दिने व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।
शुद्धतालाई ध्यान दिन आपूर्तिमन्त्रीको निर्देशन
आपूर्तिमन्त्री शिवकुमार मण्डलले दैनिक उपभोग्य वस्तुको शुद्धतालाई ध्यान दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ । आपूर्ति मन्त्रालयमा भएको सुपथमूल्य सम्बन्धि बैठकमा मन्त्री मण्डलले मन्त्रालय अन्तर्गतका विभाग, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गतका विभाग र उपभोक्ता अधिकारकर्मी र व्यावसायीहरलाई यस्तो निर्देशन दिनुभएको हो ।
‘अहिले अत्यधिक नाफा खाएर उपभोक्तालाई समस्या परेको छ तर अव होलसेलरले ७ देखि १० प्रतिशत सम्म नाफा खाने र खुद्रा व्यापारीले २० प्रतिशत नाफा खाएर विक्री गर्दा उपभोक्ताहरु लाभान्वित हुने अवस्था आउँछ ’ उहाँले भन्नुभयो ।
मन्त्री मण्डलले उपभोक्ताले अस्वस्थ खानेकुरा खाने अभ्यास बढेकोले त्यस्तो वानी परीवर्तन गर्नुपर्ने बताउनुभयो ।
‘बधशाला व्यवस्थीत गर्न र माछामासु र दुधमा हुने शुद्धतालाई विशेषगरी ध्यान दिनुपर्ने छ’ उहाँले भन्नुभयो ‘हाम्रो संस्कृतिले केही केही अस्वस्थ खाना खाने अभ्यास छ, हामीले त्यस्तो अभ्यास परीवर्ततन गर्न जरुरी छ ।’ मन्त्री मण्डलले खाद्यबस्तुमा आत्मनिर्भरताका लागि पनि ध्यान दिनुपर्ने बताउनुभयो ।