Saturday, May 2News That Matters

सोलु करिडोरको टावर गाउँभन्दा अन्यत्र सार्नुपर्ने माग सहित नगरपालिकालाई ज्ञापन पत्र

आशिष वस्नेत 

पूर्णपुष्टि, असार २२

कटारी, सोलु करिडोरको टावर गाउँभन्दा अन्यत्र सार्नु पर्ने माग सहितको ज्ञापन पत्र स्थानीयहरुले कटारी नगरपालिकालाई बुझाएको छ । उदयपुरको कटारी नगरपालिका , ४ का स्थानीयले सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गाउँबाट अन्यत्र सार्नुपर्ने मागबाट पछी नहट्ने भन्दै ज्ञापन पत्र बुझाएको हो ।

सोमबार नगरपालिकामा ज्ञापन पत्र बुझाउन आएका स्थानीयले प्रहरी ,प्रशासन लगाएर टावर गाड्ने प्रयास नगर्न चेतावनी दिंदै आवश्यक परे नगरपालिकामा दबाब दिन सबै स्थानीय आईपुग्ने उनिहरुले बताए  ।

नगरपालिकाका उपमेयर भिमकुमारी राउतलाई समस्या राख्दै स्थानीय अगुवा डाकबहादुर थापाले पटक पटक प्रधानमन्त्री , उर्जामन्त्री समक्ष समेत ज्ञापन पत्र बुझाउन गएको स्मरण गराउँदै उनीहरुले दिएको आश्वासन पुरा नभएकाले नगरपालिका झकझाउन आउनु परेको बताउनुभयो  ।

सोलु करिडोरको प्रसारण लाईनको टावर गाउँबाट राख्न दिए अन्य आयोजनाले पनि गाउँबाट टावर राख्न सक्ने भएकाले गाउँबाट टावर अन्यत्र बनक्षेत्रमा सार्नुपर्ने मागलाई यथावत राखेको पनि थापाले बताउनुभयो  ।

स्थानीयको मागलाई सम्बोधन गर्दै उपमेयर भिमकुमारी राउतले राष्ट्रिय गौरबको आयोजनालाई नगरले सहयोग गर्ने भएपनि जनताको चित्त बुझाएर काम गर्नुपर्ने बताउनुभयो  ।

तत्कालिन उर्जामन्त्री टोपबहादुर रायमाझीले बजारमा घडेरी आउनेगरी मुअब्जा दिने बताएको भएपनि हाल स्थानीयले बजारमा घडेरी आउने गरी मुअब्जा आउने महसुस आफुलाई पनि नभएको बताउँदै उपमेयर राउतले जनताको सहमति विनाको काम सह्य नहुने बताउनुभयो ।

कटारी नगरपालिका–४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुराउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् ।