
पूर्णपुष्टि/गाईघाट, मंसीर १९ गते ।
दल विशेषभन्दा पनि स्वतन्त्रपुर्वक, निर्भिक र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न यहाँका सरोकारवालाहरुले जोड दिएकाछन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा उदयपुरको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार सदरमुकाम गाईघाटमा भएको आचारसंहिता बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले पत्रकारको तठस्थतामाथि प्रश्नचिन्ह गर्ने वातावरण नवनाउन सुझाब दिएका हुन् ।
विशेषगरी निर्वाचनका मुखमा केहि सञ्चारमाध्यम दलगत स्वार्थमा डुव्दा आमनागरिकले सत्यतथ्य समाचारहरु पाउन नसकेको प्रति संकेत गर्दै उनीहरुले दल र तिनका उमेदवारभन्दा पनि नागरिकको अभिमतलाई बुझ्न आग्रह गरे । उनीहरुले निर्वाचनमा सञ्चारमध्यमले थोरै स्वार्थ राख्दा जनता सहि सूचनाबाट वञ्चित मात्र नभई त्यसले ठुलै अप्रिय घटनासमेत हुने भएकाले आचारसंहिताको ख्याल गरी कलम चलाउन आग्रह गरे ।
सहभागिहरुले निर्वाचनको समयमा सञ्चारमाध्यमहरुले आचारसंहितालाई रद्दीको टोकरीमा फाली आफु र निकट रहेका दल तथा तीनका उमेदवारका समाचारहरु सम्प्रेषण गर्ने भएकाले त्यसको अनुगमनका लागि प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघको सम्यन्त्रलाई मजवुद र भरपर्दो बनाउनु पर्ने सुझाब दिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले सञ्चारजगत आफैमा सम्बेदनशिल भएकाले मुलुकको सम्बेदनशिलतालाई ख्याल गरी तठस्तथा कायम गरी आफ्ना कलमहरु चलाउनु पर्ने सुझाब दिए । उनले राष्ट्र निर्वाचनको माहोलमा होमिएकाले यसलाई सहजरुपले अवतरण गराउन सञ्चारमाध्यमको ठुलो भुमिका हुने भएकाले आफ्नो महत्वलाई ख्याल गर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेँलले दलगत स्वार्थभन्दा माथि उठेर जनताले पाउने सहि सूचनाको हकलाई व्यवस्थित गर्न आग्रह गरे । उनले सहि सूचना मात्रै पत्रकारको धर्म भएकाले हिजोका गल्ती कमिकमजोरीलाई एउटा शिक्षाकोरुपमा लिई अगाडी बढ्न आग्रह गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोबिन्द चौलागाईले सञ्चारकर्मी देशको मेरुदण्ड भएकाले यसको सहि ढंगले सदुपयोग गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरे । उनले कहिले काँही आफुले सानातिना सम्झी गल्तिगर्दा मुलुकले ठुलो क्षति व्यहोर्नु पर्ने भएकाले विचार र विवेक पुर्याएर कलम चलाउनु पर्ने धारणा राखे ।
त्यस्तै प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले निर्वाचनमा सञ्चारमाध्यमले गरेका कमिकमजोरीमाथि काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमलाई कारवाहीको दायरमा ल्याएको बताए । उनले कुन कुन सञ्चारमाध्यमले आचारसंहिता उल्लघन गरेका छन् तिनीहरुको काउन्सिलले अभिलेख राखेको हुँदा पेसाभन्दा वाहिर रहेर गतिबिधि नगर्न आग्रह गरे ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष भरत खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमा समग्र जिल्लाको पत्रकारिताको बारेमा सल्लाहकार भक्तिबिलास पोखरेलले र कार्यक्रमको उदेश्यमाथि काउन्सिलका अनुगमन अधिकृत रहमतुल्ला मियाँले राखेका थिए ।