पूर्णपुष्टि/उदयपुर, चैत ५ गते
-आइतबार अपरान्हदेखि एकाएक फेसबुकका स्टाटसहरु समाजसेवी ज्ञानेन्द्र वान्तवाको श्रद्धाञ्जली तस्बिरहरुले भरिएका छन् । सबैको स्टाटसमा वान्तवाकै तस्बिरमात्र छन् । यो क्रम आज पनि चलिरहेको छ ।
समाजमा सक्रिय, युवाहरुकाबीच अग्रज, अति मिलनसार, खेलप्रेमी तथा राजनीतिककर्मी ४७ बर्षिय वान्तवाको लोकप्रियता फेसबुक वालहरुबाट प्रष्ट छ । उहाँको निधनको खबरले स्तब्ध उदयपुरबासी, उहाँका आफन्तजनहरुमा फेसबुक स्टाटस्का अन्य विषयनै फुर्न सकेन, त्यसैले सबैले उहाँकै तस्बिर राखेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
पारिवारिक श्रोतका अनुसार शनिबार राती सुतेका वान्तवा आइतबार विहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा थिए । आफन्तसंगको भेटघाटमा काठमाडौं रहनु भएका वान्तवाको हृदयघातबाटा स्वर्गरोहण भएको परिवारले जनाएको छ । त्रियुगा नगरपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका वान्तवाको शब पाटन हस्पिटल काठमाडौंमा पोष्टमार्टमपछि अन्तिम संस्कारका लागि गाईघाट नै ल्याइने बताइएको छ ।
सबैको मनमा छाउन सकेका वान्तवाको जसरी आज सामाजिक सञ्जाल फेसबुकभरी उहाँको सम्मानमा तस्बिरहरु छाएका छन्, श्रद्धाञ्जली अर्पण भएका छन् । त्यसरी नै उहाँको सामाजिक योगदानको पनि कदर हुन सकोस् । आफु हाँसेर अनि अरुलाई हसाएरै जीवनकाल विताएका समाजसेवी वान्तवाको मृत आत्माले चीर शान्ति पाउन्, हार्दिक श्रद्धाञ्जली । अलविदा !