Tuesday, August 11News That Matters

हराएका ३० मोटरसाइकल भेटिए, चोरीमा संलग्न २ पक्राउ

पूर्णपुष्टि, चैत १०

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० वटा मोटरसाइकल ट्रफिक प्रहरीले फेला पारेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको महाशाखाले जनाएको छ । उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ समेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा ९२ प ९१३३ नम्बरको बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षीय बिमल गुरुङ र मोरङका आशिष खत्रीलाई पक्राउ गरेको हो ।

महाशाखाका अनुसार उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, टोखा, नयाँबसपार्कबाट हराएको मोटरसाइकल बरामद भएको छ ।