
उदयपुर, असार ९ गते ।
उदयपुर, असार ८ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यूटप र खोटाङको हलेसीधाम जोड्नेगरी केबलकार सञ्चालनको निम्ति सम्भाब्यता अध्ययन भएको छ ।
पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार केबुलकार सम्बन्धी काम गरिरहेका प्राविधिकसहितको तीनजनाको टोलीले सम्भाब्यता अध्ययन गरेको हो । पालिकासंगको समन्वयमा हलेसी महादेव केबुलकार प्राईभेट लिमिटेडको पहलमा सम्भाब्यता अध्ययनपछि एभरेष्ट भ्यूटव केबलकारका लागि उपयुुक्त ठाउँको रुपमा पहिचान गरिएको अध्यक्ष राईले बताए । सम्भावना राम्रो देखिएकाले अबका दिनमा पूर्णरुपले अध्ययन र योजना निर्माण गर्ने निस्कर्षमा टोली पुगेको छ ।
पर्यटकीय हिसावले प्रख्यात हलेसी र लिम्चुङबुङ वारीपारी रहेकाले केबुलकारको सम्भावना देखिएको हो । पछिल्लोसमय लिम्चुङबुङको एभरेष्ट भ्यूटव रमणीय हिमश्रृङ्खला दुष्यावलोकन तथा घुमफिरको लागि रमणीय स्थलको रुपमा परिचित छ । नयाँवर्षमा सो ठाउँमा महोत्सव लागेपछि झनै प्रख्यात बन्दै गएको छ ।
केबुलकारको कामलाई अगाडी बढाउन सकेमा लिम्चुङबुङ र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको पर्यटकीय क्षेत्रको विकास र प्रबर्धनमा टेवा पुग्ने उहाँले बताए । सातओटा भन्दा बढि हिमश्रृङ्खला र दुबै पालिकाको बीचमा बगिरहेको सुनकोशी नदिको दृष्यावलोकन गर्दै केबलकार चढ्न पाइने भएकाले राम्ररी सन्चालन हुनसक्ने बताए ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु पार्न सकिने प्रशस्त सम्भावना देखिएपछि भ्यूटप केबुलकार सञ्चालनका लागि रोजाईमा परेको छ । उदयपुरको सदरमुकाम गाईघाटदेखि मुर्कुची हुदै लिम्चुङबुङ पुगेर सुनकोशी नदी पारीको पूर्वको प्रख्यात हलेसीधाम जोड्ने पर्यटन सडकका कारण पनि त्यहाँ केबुलकार चढ्ने मानिस प्रशस्त पुग्ने स्थानीय बताए । हाल पनि कतिपय तिर्थालुहरु हलेसीबाट लिम्चुङबुङ हुदै मधेस झर्ने र सोहीबाटो हुदै हलेसी पुग्ने गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । सुनकोशीमा पक्कीपुल नहुँदा गाडी वारपार नगरेपनि मोटरसाईकल भने झोलुंगे पुलबाट तर्ने गरेको छ । यात्रुलाई वारिको गाडीले सुनकोशी वारीसम्म र पारीकोले पारीसम्म पुर्याउने गरेको छ ।