Friday, February 14News That Matters

हेटौंटा सिमेन्ट उद्योग संकटमा

साउन १२ गते ।

नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग यतिबेला आफ्नो पहिचान जोगाउन संघर्षमा छ । २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

पूर्ण सरकारी स्वामित्वमा संचालन हुदै आएको उद्योगले हरेक नयाँ आर्थिक वर्षमा नयाँ लक्ष्यको लिएर अघि बढेपनि विभिन्न कारणले नतिजा निराशाजनक आउँछ । आफ्नै उद्योग नभएकाले नेपाली बजारमा एकछत्र राज गर्दै आएका भारतीय सिमेन्ट विस्थापित गर्ने उद्देश्यले राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा यस उद्योग खोलेको थियो ।

जुन लक्ष्य र उद्देश्यका साथ उद्योग खोलिएको थियो तर त्यो नभई अहिले उद्योग सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ । आजभन्दा करिब ३४ वर्ष पहिले नेपालमा पहिलो पटक गुणस्तरीय सिमेन्ट उत्पादन गरी उद्योगले सिमेन्ट निर्यातको हब बनेर अगाडी बढेको भएपनि यतिबेला संचालन चुनौतीबाटै ग्रसित बनेको छ ।

गत आर्थिक वर्ष ०७५÷०७६ मा ३० लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित उद्योग अघि बढेको भएपनि आर्थिक वर्षको अन्तसम्ममा २२ लाख बोरा सिमेन्ट उत्पादन गर्न सकेको उद्योगका प्रशासन विभागले जनाएको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन उद्योगको क्षमता भएपनि सरदर दैनिक ६ हजार बोराभन्दा धेरै उत्पादन गर्न नसकेको विभागले जनाएको छ ।

उद्योग चलिराको बेला विद्युत विचमा गयो भने एकपटकमा तीन लाख बराबरको क्षति हुने उद्योगको दावी छ । बाह्रैमास पूर्ण क्षमताको साथ उद्योग सञ्चालन गर्नका लागि प्राविधिक गडबडीमा जगेडा उपकरण आवश्यक पर्छ । तर  त्यसो गर्न उद्योगलाई सार्वजनिक खरिद ऐन बाधक बनेकाले सञ्चालनमा रहेको उपलब्ध साधनले काम गर्दै जानु पर्दछ कुनै कारणले बिग्रेपछि मात्रै बल्ल उपकरणका लागि पहल गर्न पाइन्छ । उपकरण खरिदको प्रक्रिया पूरा गर्दा करिब एक महिना लाग्ने भएकाले उद्योग पीडित बनेको हो ।

गत जेठमा बिग्रिएको रमिल मेन ड्राइभ मोटरका कारण उद्योगले दुई महिनासम्म सिमेन्ट उत्पादन गर्न नसकेको विभागले जनाएको छ । उद्योग र कारखाना सञ्चालनका लागि सार्वजनिक खरिद ऐन व्यवहारिक नभएको उद्योगले जनाएको छ ।

सबै प्रक्रिया पूरा गरी उद्योगले मकवानपुरको मजुवा खानीमा ठेक्का लगाएको ढुंगाखानीमा स्थानीय गाउँलेले अनावश्यक विवाद निकालेर सात महिनासम्म ढुंगा झिक्न नदिएको उद्योगको आरोप छ । क्षतिपूर्ति लगायतका विभिन्न माग गरेर उद्योगलाई आवश्यक कच्चा पदार्थ निकाल्न नदिएपछि उत्पादनमा असर परेको थियो ।

त्यस्तै धादिङको जोगिमारामा रहेको ढुंगा खानीमा पनि स्थानीयले मुआब्जा बिबाद निकालेर लामो समय ढुंगा उत्खनन् गर्न नदिएको उद्योगको आरोप छ । उद्योगको अप्ठ्यारोमा सहजीकरण गर्न सरकारले पहल नगरेका कारण उद्योगको अवस्था दयनीय बन्न पुगेको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले गरेको क्षतिसम्बन्धी एक अनुसन्धानले शक्ति सिमेन्टको प्रयोग गरी निर्माण गरिएका सरकारी र धार्मीक स्थलहरुको सवै भन्दा कम क्षती भएको दावी गरेको उद्योगका प्रशासन विभागले जनाएको छ । त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र र अहिले निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत परियोजना हलगायतका ठूला संरचनामा उद्योगबाट उत्पादन भएका शक्ति सिमेन्टको प्रयोग भएको छ ।

उद्योगले जर्मन प्रविधिको प्रयोग गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ । एक हजार वर्षसम्म पुग्ने उच्च कोटीको रातो माटो र ढुंगा खानी उद्योगसँग रहेको विभिगले जनाएको छ । सरकारी कम्पनी भएकाले उत्पादनको गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने र त्यसलाई कायम राख्नु नै चुनौती भएको उद्योगले जनाएको छ ।

उत्पादनमा थोरै रासायनिक वा गुणस्तर मापदण्ड नपुगेका सिमेन्टलाई ल्याबले अस्वीकार गरी मापदण्ड नपुगेको सिमेन्ट प्याक नगरी नष्ट गरिने उद्योगका ईन्जिनियरहरु बताउँछन् । हेटौंडा सिमेन्टको अर्को विशेषता भनेको उद्योगको आफ्नै भण्डारण केन्द्र नहुनु पनि हो । जसले गर्दा उत्पादन भएको सिमेन्ट ताजारुपमै बजारमा पुग्छ । नयाँ निर्माण गरिने कुनै पनि संरचनाको हात्तीपाइले, पिल्लर र छत ढलानका लागि पहिलो रोजाइ हेटौंडा सिमेन्ट नै हुने गरेको उद्योगको दाबी छ ।

पूर्णसरकारी स्वमित्व भएका कारण हेटौंडा सिमेन्टले नाफा कमाउनै पर्छ भन्ने नभएको मानिए पनि अन्य सिमेन्ट उद्योगले गुणस्तरमा जनतालाई अन्याय नगरुन् भन्नका लागि यो उद्योग बचाउन सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।