Monday, April 20News That Matters

१८ करोड रकम हिनामिना गरेको आरोपमा ५६ जना विरुद्ध मुद्दा दायर

कात्तिक ४ गते । 

दाङमा तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैंक नारायपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको आरोपमा ५६ जनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालत तुलसीपुरमा बैंकका सञ्चालक खड्कबहादुर बुढाथोकीसहित, कर्मचारी र खातावालसहित ५६ जना विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले २ महिना लामो अनुसन्धान गरेर प्राप्त प्रमाणलाई शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाएपछि कसुरदार विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता भएको हो ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैंक सञ्चालक, एक जना अडिटर, सिईओसहित ६ जना बैँकका कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्दा दर्ता गरेको थियो ।

बैँक सञ्चालकहरु  र सिईओ फरार रहेको जनाईएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङको कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालीन वेष्टर्न बैंक नारायणपुर अहिले देवः विकास बैँकका म्यानेजर समिर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैंक सञ्चालक, ऋण बोर्डका सदस्य, अडिटर, बैंकका सिईओसहितका कर्मचारीहरु र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रुपमा मुद्दा दर्ता गरिएको जनाईएको छ ।

बैंक हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैंकका सञ्चालकहरु खड्गबहादुर बुढाथोकीसहित ओमभक्त बुढाथोकी, अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्दा चलाएको हो । त्यस्तै, रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैँकका सिईओ खिमबहादुर डिसि, बैंकका कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने, बुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापा र खाताको रकम दुरुपयोग गरेकोमा ४३ जनामाथि सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको दोब्बर बिगो (३६ करोड बढी) जरिवाना र कैद सजायको माग गरीएको छ । तत्कालीन ब्राञ्च म्यानेजर समिर बुढाथोकीले ३६ जनाको नक्कली कागजात बनाएर बैंकको रकम हिनामिना गरेको अनुसन्धानको क्रममा देखिएको कार्यालय प्रमुख देवकोटाका बताए ।

अनुसन्धानका क्रममा एकै दिन बैंकको हिसाब किताब अडिट गरिएकोसमेत खुलेको छ । ब्राञ्च म्यानेजरले २ लाखभन्दा बढी कर्जा नै प्रवाह गर्न नपाउने नियम रहेकोमा एक्कासी यति ठूलो रकम बाहिरिएपछि रहस्य खुलेको थियो । उक्त बैँकले उक्त रकम हिनामिना गरेको उजुरीपछि प्रहरीले बैंकका म्यानेजर पक्राउ परेको थियो ।

बैंकका म्यानेजर बुढाथोकीको बयानका आधारमा प्रहरीले यो अवधिमा थप १४ जनालाई पक्राउ गरेको थियो । बैंकका शाखा प्रमुख समिर बुढाथोकीसहित तीन जना कर्मचारी र आठ जना खातावाल प्रहरी हिरासतमा छन् । अन्य तीन जना भने यसअघि नै तारेखमा छुटेका थिए । वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा मात्रै देवः विकास बैंकसँग गाभिएको थियो ।