Friday, May 22News That Matters

१ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठ्यो

पूर्णपुष्टि, जेठ ३२ गते ।

चालु आर्थिक वर्ष २०७६÷७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ नेपाल राष्ट्र बैङ्कले उठाएको छ । बैकले ट्रेजरी विल तथा विकास ऋण पत्रमार्फत जेठ मसान्तसम्म १ खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो ।

ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र १ खर्ब रुपैयाँ उठेको राष्ट्र बैंकले जनाएको छ  । सरकारले चालु आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताएको थियो ।

यसलाई पछि संशोधन गरेर १ सय ९३ अर्ब बनाएको छ ।

आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ । कार्यतालिका अनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋण उठाइरहेको छ ।

अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने जनाईएको छ । बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ ।

कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१.२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचत पत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचत पत्रमार्फत उठाउने राष्ट्र बैङ्कले कार्यतालिकामा उल्लेख गरेको छ ।