कटारी, साउन ११ गते ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारी उदयपुरले यस वर्ष पनि वृहत कार्यक्रमका साथ मनाउने भएको छ । महासंघको आज महासंघ हलमा बसेको भेलाले आगामी ९ अगष्ट तारिख २४ साउनका दिन कटारीमा विगतमा जस्तै धुमधामका साथ मनाउने निर्णय गरेको परिषदका अध्यक्ष केदार मगरले जानकारी दिनुभयो ।
त्यसैगरी यस वर्षको कार्यक्रममा नगर भित्रबाट एसईई परीक्षा उत्तीर्ण गर्न सामुदायिक विद्यालयबाट उत्कृष्ट श्रेणी ल्याएका प्रत्येक वडाका एक छात्र र एक छात्रालाई दिवशको अवसरमा सम्मान गरिने परिषदका सचिव पदम राईले जानकारी दिनुभयो । दिवशको अवसरमा कटारीमा विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी विविध कार्यक्रमका साथ दिवश मनाउने तयारी भईरहेको महासंघले जनाएको छ ।
लोकसेवा आयोगले निकालेको सुचनामा आरक्षण हटाईएको विरोधमा आन्दोलनरत आदिवासी जनजाति महासंघले दिवशसँगै विरोधका कार्यक्रमलाई पनि निरन्तरता दिने जनाएको छ । माथिल्लो समितिहरुको निर्देशन बमोजिम कार्यक्रमहरु तय गरिने पनि परिषदका अध्यक्ष मगरले बताउनुभयो ।