
बैशाख ३
नेपालको ललितपुरबाट ३७ वर्षअघि चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ ।
अमेरिकाको टेक्सास राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी–नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो ।
पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) मूर्ति सार्वजनिक गरिएको हो । लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा लिएको छ भने सुरक्षितसँग राख्नको लागि पाटन सङ्ग्रहालयमा पठाएको छ । पुरातत्व विभागमा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको उपस्थितिमा विभागले मूर्तिको जिम्मा लिएको जनाएको छ ।
अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतका विदेश अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरी, एफबीआई र डल्लास म्युजियम अफ आर्टको संयुक्त अनुसन्धानपछि लक्ष्मी–नारायणको मूर्ति फेला परेको जनाईएको छ । डल्लास म्युजियम अफ आर्टमा २०७७ साल मंसिरमा मूर्ति फेला परेको थियो ।
झण्डै ८ सय देखि १ हजार वर्षअघि स्थापना भएको मूर्तिको दाहिने पट्टिको आधा भागमा नारायणको आकृति छ भने बायाँतिरको आधा भागमा लक्ष्मीको आकृति कुँदिएको छ । दाहिनेतिरको खुट्टाको तलतिर नारायणको वाहन गरुड छ भने बायाँतिरको खुट्टाको तल लक्ष्मीको वाहन कछुवा छ र मूर्तिको तौल ७० किलो जतिको छ । मध्यकालीन नेपाली मूर्तिकलाको प्रस्तर नमुनाको रूपमा रहेको मूर्ति १५ शताब्दीको भएको मानिएको छ ।
सन् १९८४ मा मूर्ति मन्दिरबाट हराएको, केही समयपछि अमेरिकामा देखिएको थियो । मूल्यवान मूर्ति र कलाकृति लिलाम गर्ने अन्तर्राष्ट्रिय संस्था सदबिजले सन् १९९० मा आफ्नो ‘क्याटलग’ मा लक्ष्मीनारायणको मूर्ति ३०–४० हजार अमेरिकी डलरमा बेच्नको लागि तयार भएको जानकारी दिएको थियो ।
मूर्तिको किनबेचपछि मूर्तिको अत्तोपत्तो भएन । तर पछि सन् २०१० मा पटको टोलका स्थानीय दिलेन्द्र श्रेष्ठले ‘डालस म्युजियम अफ आर्ट’ मा पुगेको बेला आफ्नो टोलको मूर्ति देख्नु भयो । उहाँले अनुसन्धानकर्ता एरिन थम्प्सनको लेख पढेपछि त्यस मूर्ति त आफ्नै टोलको लक्ष्मीनारायणको रहेको पत्ता लगाउनु भएको थियो । त्यसपछि मूर्तिको बारेमा अनुसन्धान सुरू भएको हो ।
लक्ष्मीनारायणको मूर्ति स्वतन्त्र अध्येता, अमेरिकी गुप्तचर संस्था ‘एफबीआई’ सहित नेपाल सरकारको पहलमा गत चैत ३१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुगेको हो भने यसभन्दा अघि २०७७ फागुनमा अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
