
उदयपुर, साउन १० गते ।
उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार ५० क्विन्टल खाद्यान्न हेलीबाट लगिएको छ । प्रदेश सरकारले राहतस्वरुप उपलब्ध गराएको खाद्यान्न पालिका अध्यक्ष मेजरकुमार राईले हेलीबाट लगेका हुन् । दाल, नुन, तेलसहितको खाद्यान्न नेपाली सेनाको हेलीबाट विराटनगरदेखि लगिएको हो । हिजोदेखि दुर्गम पालिकाहरु ताप्ली र लिम्चुङबुङमा हेलीबाट खाद्यान्न लगिएको हो ।
भिषण वर्षातपछि सडक सञ्जाल सबै तहसनहस भएपछि खाद्यान्न संकटलाई सम्बोधन गर्न पालिकाको मागमा प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको हो ।

यसैबीच खाद्यान्न बोकी लगेको हेलीले एक विरामीको उद्धार पनि गरेको छ । लिम्चुङबुङ गाउँपालिका खाद्यान्न बोकी लगेको हेलिले सो पालिकाको वडा नं. २ की विरामी यसोदा राईको उद्धार गरेको हो । अध्यक्ष राई आफैले विरामीलाई काठमाडौं लिएर गएका छन् । सडक भत्किएकाले उपचार गराउन अस्पताल जान नसकिरहेकी राईलाई हेलीबाट काठमाडौं पुर्याईदिएको पालिका अध्यक्ष राईले बताए । विरामीले हेलिबाट काठमाडौं पुग्न पाएपछि उपचार पाउने भएको उनले बताए ।