Friday, May 22News That Matters

५ महिनामा ११० नेपालीको मृत्यु

पूर्णपुष्टि, साउन २९

युएईमा पछिल्लो पाँच महिनामा एक सय १० जना नेपालीले मृत्यु भएको छ । ११ मार्चपछि एक सय १० जना नेपालीको मृत्यु भएको आबुधाबीस्थित नेपाली दूतावासको तथ्यांकले देखाएको छ ।

मृत्यु हुनेमा ५ जना महिला छन् । प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट उनीहरुको मृत्यु भएको दूतावासले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोनाका कारण १ जना महिलासहित ३६ जना नेपालीले मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुने ३६ जना र अन्य कारणले मृत्यु भएका समेत गरी ६९ जनाकोे शव युएईमै अन्त्येष्टि गरिएको छ ।

दूतावासको सिफारिसमा नेपालमा रहेका परिवारको स्वीकृतिपछि स्थानीय प्रशासनको समन्वयमा शवलाई युएईमै अन्त्येष्टि गरिएको हो ।

कोरोनाबाहेकका कारण मृत्यु भएकाहरुको शव लामो समयसम्म यहीँ अड्किएको र हवाई उडान ठप्प भएपछि यहीँ रहेका आफन्तले अन्तिम संस्कार गरेका हुन् ।

यसक्रममा २६ वटा शव भने नेपाल पठाइएको छ । चारवटा शव नेपाल पठाउने क्रममा छ । ११ वटा शवको भने विस्तृत रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ ।