Tuesday, March 18News That Matters

८ सय ८० मेगावाटबाट २ सयमा झारिदै

साउन ११ गते ।

आयोजनाको सर्भेमा आठ सय ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने तामाकोसी–३ जलविद्युत आयोजनाको क्षमता तेस्रो पटक घटाएर दुई सयमा झार्ने तयारी भएको छ ।

नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाको काम सुरु गरीएको भए २ वर्ष पहिले नै दोलखामा विजुली उत्पादन हुन्थ्यो । एसएन पावरले गरेको योजनाको अध्ययनले आठ सय ८० मेगावाट क्षमताको विद्युत गृह निर्माण गर्न सकिने देखाएको थियो । २०१२ देखि निर्माण कार्य सुरु गरेर सन् २०१६ भित्र २ सय २० मेगावाट र अर्को एक बर्ष्भित्र पुरै विजुली उत्पादन गरिसक्ने योजना थियो ।

पछि फेरी नर्वेजियन कम्पनीले निर्माण सम्पन्न गराउन लगाउने भन्दै आयोजनालाई ६ सय ५० मेगावाटमा झार्न लगाईयो त्यसै अनुसार सर्भे पनि भएको थियो । तर बजार सुनिश्चित नभएको भन्दै आयोजना विकास सम्झौता गर्नेबेला  २०७२ पुसमा नर्बेली कम्पनी आयोजनाबाट हात निकालेका थिए ।

नर्वेली कम्पनी बाहिरीएपछि करिब दुई वर्षपछि ऊर्जा मन्त्रालयले २०७४ असोजमा टीबीआई होल्डिङ्सलाई आयोजना दिएको थियो । तत्कालीन समयमा ५ सय मेगावाट बढीका आयोजना लगानी बोर्डको कार्यक्षेत्रमा भएपछि मन्त्रालयले सर्भे अनुमति दिएकोमा मतभेद समेत भएको थियो ।

लामो समयसम्म अलमलमा परेका टीबीआई होल्डिङ्सले बिहीबार दुई चिनियाँ कम्पनीसँग संयुक्त लगानीमा आयोजना २ सय मेगावाटमा बनाउने गरी समझदारी गरेको छ । चीनको वाईआईजी इन्टरनेसनल र सांघाइ इन्भेस्टमेन्ट, डिजाइन एन्ड रिचर्स इन्स्टीच्युट कर्पोरेसनसँग ‘जोइन्ट भेन्चर डेभलपमेन्ट फ्रेमवर्कुमा हस्ताक्षर गरेको चिनियाँ सरकारी समाचार संस्थाले जनाएको छ ।

सम्झौता भएपछि आयोजनामा दुई चिनियाँ कम्पनीले ५ सय मिलियन डलर अर्थात् ५५ अर्ब रुपैयाँ रकम लगानी गर्नेछन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चीनको युनान प्रान्तका उपगभर्नर झाङ ग्वाहुआ हस्ताक्षर समारोहमा सहभागी भएको जनाईएको छ ।

कार्यक्रममा ऊर्जामन्त्रीको सहभागिताले आयोजनाको क्षमता नघट्ने अनुमान गरिएको छ । आयोजना निर्माण २०२० मा सुरु हुने र साढे तीन वर्षमा सम्पन्न हुने जनाईएको छ । सुरुमा यो आयोजना दोलखाको नाम्दु वुस्तीमा ९६ मिटर बाँध उठाएर साढे किलोमिटर सुरुङमार्फत मालु वा शहरेमा झारेर विद्युत उत्पादन गर्ने योजना छ ।

सिंगटीदेखि वुस्तीसम्म करिब १५.७५ किलोमिटर लामो पोखरी बन्ने थियो । सुरुको योजना अनुसार बनाउने हो भने हिउँदमा पनि कम्तीमा दुई सय ५० मेगावाट विजुली उत्पादन हुने अवस्था छ ।