
पूर्णपुष्टि, असार ५ गते ।
सरकारले कोरोना भाईरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा भ्रष्टचारका मुद्दा बढेको छ । चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
लकडाउन अवधिमा अधिकांश उजुरी अनलाइनबाट आएको थियो । अख्तियारले लिखित, टेलिफोन, इमेल, वेबसाइट, फेसबुक, भाइबर, ट्विटरलगायतबाट उजुरी लिन्छ । लकडाउनका बेला ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै दुई वटा उजुरी परेका छन् ।
लामो समय बन्द भएको कार्यालय खुले लगत्तै अख्तियारले ८ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल, नायब सुब्बात्रय उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
पक्राउ परेका कर्मचारीहरूले गैरकानुनी तरिकाले जग्गाको कित्ताकाट गरेको अख्तियारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा दरबन्दी भएर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सीताराम घिमिरेलाई पनि घुस लिएको आरोपमा नियन्त्रणमा लिएर अख्तियारले चार्जसिट दायर गरेको छ ।
