
पूर्णपुष्टि, साउन २८
छिमेकी देशको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको गृह मन्त्री रामबहादुर थापाले बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित हुनु भएका गृह मन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताउनुभएको हो ।
सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्ति छिमेकीको रहेको उहाँले बताउनुभयो । यो प्रवृत्ति नहटेसम्म सीमा समस्या रहिरहने बताउनुभयो ।
हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन यसको कारण हो । पिलरहरु उखेलेर फालिदिने अथवा नेपालभित्र ल्याएर गाड्ने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडि एउटा कारण देखिन्छ ।
सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृह मन्त्री थापाले बताउनुभयो । यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उहाँले बताउनुभयो ।
सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताउनुभयो । सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।
सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृह मन्त्री थापाले बताउनुभयो । नदीले धार परिवर्तन गर्दा सीमासमेत परिवर्तन हुन्छ । त्यही आधारमा स्ट्रिप नक्सा बनाउँदा नेपालको भू–भाग भारतमा र भारतको भू–भाग नेपालमा परेको पनि उहाँले बताउनुभयो ।
