Tuesday, June 9News That Matters

कवि ( जिवन आरोहीको ) कविता (निमन्त्रणा)

निमन्त्रणा

तिमी आउँदा

सँगसगै लिएर आउनु

ओठमा मुस्कान

र मस्तिष्कमा उज्यालो सपना ।

आउँदा

छातीमा नक्सा छिपेर गाउँको

कोरिदिनु पुरातन पत्थरको छातीमा

उज्यालो हिड्ने स(साना गोरेटोहरू,

प्रतिफलमा सोध्नेछन् कणर्धार पाइलाहरूले

तिम्रो यात्राको सौन्दर्य ।

आउँदा,

थाक्यो भने गोडा,

लाग्यो भने थकान,

सखारै काँधमा हलो बोकेर बेसी झरिरहेका

ईश्वरहरू सम्झनु ।

सम्झनु, आमाको आँसुको आशिर्वाद ।

पछ्याउँदै नदीजस्तो सफर,

सम्झँदै, चराहरूले जसरि घरको ठेगाना ।

नबिर्सि आईपुग्नु तिम्रो गन्तब्य ।

तिमीले ठेगाना बिर्सियौ भने

बिर्सिनेछ, खेतबारीले अनाजसँगको प्रेम,

केटाकेटीहरूले बिर्सिनेछ, पाठशालाको बाटो,

र कणर्धार आँखाहरूले बिर्सनेछन

सहिदको सपना ।

जसरि बिर्सन्छ बिरक्तिएका चराहरूले

आफ्नो घर र देश ।

तिमी आउँदा

गाउँ(बेसी गरिरहेकै हुनेछन्

असार रोपिरहेका किसानहरू ।

घरको पिढीमा तिम्रै बाटो हेरिरहेका हुनेछन्

घरका बृद्ध घाम(जूनहरूले ।

र पाठशाला गईरहेकै हुनेछ (केटाकेटीहरू ।

तर निःशर्त गाउँ फर्किरहेको हुनु पर्नेछ

देश छाडेर हिँडेका पाइतालाहरू ।

तिमी आएपछि(

पछ्याउँदै आउनेछ

घर, आगनीमा घाम, जुनहरूको उज्यालो ।

खोलाहरू,

कुलो भयर आउनेछ खेतसम्म,

र सुरू हुनेछ अनाजसँग माटोको प्रेम ।

पाखुरीमा रोप्नु अलिकति जाँगर

र फलाउनु छातीमा यो ब्रम्हाण्डजस्तो फल

हामीले उज्यालो खोजिरहनु पर्दैन,

आफ्नै आँखाको क्षितिजमा घाम उदाउनेछ ।

हो तिमी आउँदा

सँगसगै लिएर आउनु

ओठमा मुस्कान

र उज्यालो सपना,

बर्षौंदेखि तिमीलाई पर्खिरहेको मुस्कान

तिम्रै आमाको हो

              नामः जीवन आरोही

                 ठेगानाः रसुवा, उदयपुर