
पूर्णपुष्टि, असोज १२
अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुदै गएकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
यस वर्षको मनसुन बाहिरिने संकेत देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान गरिएको छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको छ । यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।
नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहने जनाईएको छ ।

