
पूर्णपुष्टि, चैत १० ।
अब नेपाल पनि लक डाउन भएको छ । नेपाल सरकारले भोली चैत ११ गतेदेखि १८ गते विहान ६ बजेसम्मका लागि लकडाउन गरेको हो । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैंठकले नेपाल लकडाउनको निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिले नेपाललाई उच्च सतर्कताका लागि यस्तो निर्णय गरेको हो ।
आजबाट एकसाताका लागि छिमेकी राष्ट्रहरुसंग जोडिएको नाका बन्द गर्ने र लामोदुरीका यातायात बन्द गर्ने निर्णय गरेको सरकारले थप सतर्कता अपनाउदै देशै लकडाउनको घोषणा गरेको हो ।
लकडाउनमा सबै हवाईसेवा बन्द हुने, औषधि उपचार र खाद्यवस्तु खरिद जस्ता अति आवश्यक काम बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने आदेश पर्दछ । सरकारले सबै नागरिकहरुलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश जारी गरेको छ ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोक्न सरकारको आदेश रहेको छ ।
सबैजसाे जिल्लाहरूमा जिल्लास्तरमा ब्यापार व्यवसाय, यातायात लगायतका विविध सेवाहरू बन्द गर्ने निर्णय भएकाे अवस्था थियाे । तर सरकारले नै लक डाउनकाे घाेषणा गरेपछि अव सबै बन्द हुने भएकाे छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले संङीय सरकारले नै लकडाउन घाेषणा गरिसके पछि त्यसैलाइ पालना गराउने प्रशासनकाे दायित्व रहेकाे बताउनुभयाे । वहाँले सर्वसाधारण नागरिकहरूलाइ लकडाउनकाे अर्थ बाहिर ननिस्की घरमै बस्न सरकारकाे आदेश हाे भन्ने बुझ्रनु पर्ने भन्दै त्यसलाइ पालना गरिदिन आग्रह गर्नुभयाे । नीजी सवारी साधनहरू चल्न नपाउने तथा सुरक्षा, स्वास्थ्य जस्ता विशेष सेवाका सवारी मात्र सञ्चालनमा आउने बताउनुभयाे ।
