
पूणर्पुष्टि, भदौ १५
करिब २० बर्ष लामो बसाई पछि अमेरीकी सैनिकले अफगानस्थान छाडेको छ । लामो समय सम्मको युद्धको अन्त्य गर्दै अमेरीकी सैनिक अमेरीका फर्केका हुन् । अमेरिकाले यसअघि तालिबानसँग दोहामा गरेको सम्झौतामा अगस्ट ३१ सम्ममा अफगानिस्तान छोडिसक्ने उल्लेख थियो । सोही समय सीमा सकिनु एक दिनअघि अमेरिकी सेना फिर्ता गएको हो ।
अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमाण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उद्धार उडानमा सहभागी भएका थिए ।
अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी-सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको युद्ध पूणर्रुपमा बन्द भएको घोषणा गरे ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अफगानिस्तानमा अमेरिकी सैनिक मिसन सकिएको र आउने समयमा कूटनीतिका माध्यमबाट सम्पर्क निरन्तर जारी राख्ने बताएका छन् ।
अमेरिकी सेनाको अन्तिम जहाज काबुलबाट उडेपछि दुई साताअघि सत्ता कब्जा गरेका तालिबानहरूले विजय उत्सव धुमधामका साथ मनाएका हुन् । अमेरिकाले अफगानिस्तान छोडेको खुसियालीमा मध्यरातमा उनीहरूले काबुल सहरका विभिन्न ठाउँमा बन्दुक पड्काएका थिए ।
