
पूर्णपुष्टि, असार १५ ।
उदयपुरकाे त्रियुगा नगरपालिका वडा नं. १३ मा असार १५ को अवसरमा चक्लाबन्दी खेतीको प्रवद्र्धन गर्दै रोपाई गरिएको छ । मानो खाएर मुनी उब्जाउने यस दिनलाइ विशेषरूपमा लिदै राेपाइ अगाडी बढाएकाे हाे ।
नगरपालिकाका मेयर बलदेव चौधरी, १३ नम्बर वडाध्यक्ष पशुपती चौधरी आफै रोपाईमा सम्मिलित भए । गाउँभरीका कृषकहरुको सहभागितामा रोपाई गरिएको थियो । 
त्रियुगाले कृषिबाट पनि सम्पन्न हुन सकिन्छ भन्ने नमुना देखाउन वडा नं. १३ मा चक्लाबन्दी खेती प्रवद्र्धन गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । नगरपालिकाको गुरुयोजना, आर्थिक योजना अन्तर्गत चक्लाबन्दीखेती समेटिएको उहाँले बताउनुभयो । समृद्धिको मेरुदण्डको रुपमा कृषिलाई लिइएको उहाँले बताउनुभयो ।
त्रियुगा नगरपालिका वडा नं. १३ मा १ सय ६० विगाहा क्षेत्रफलमा चक्लाबन्दी खेती अन्तर्गत धान रोपाई गरिएको हो । मेसिनसमेतको प्रयोग गरी धान रोपाई गरिएको हो । चक्लाबन्दीमा ३०५ घर कृषकहरु सम्मिलित छन् । कृषिबाटै उनीहरुको जिविकोपार्जन र आत्मनिर्भर बनाउने उदेश्य रहेको १३ नं. वडाध्यक्ष पशुपती चौधरीले बताउनुभयो ।
कृषिलाई समृद्धिको आधार मानेको त्रियुगाले त्यहाँ गतवर्षदेखि चक्लाबन्दी खेतीलाई अगाडी बढाएको हो । चक्लाबन्दी खेती क्षेत्रमा केही तरकारी, फलफुलखेती छन् भने अधिकांश धान, मकै र गहुँ खेती रहेको छ । मेसिन प्रयोग गरी अहिले रोपिएको धान गोड्ने देखि काट्ने र झाट्नेसम्म मेसिन प्रविधि प्रयोग हुनेछ । यस्ता मेसिन तथा आधुनिक प्रविधिले थोरै समयमा धेरै क्षेत्रमा धेरै खेती गरी धेरै उत्पादन गरी धेरै आम्दानी हुने कृषि अभियानता विनोद कार्कीले बतनउनुभयो । 
चक्लाबन्दी खेतीको २५ वर्षे योजना बनेको छ । परम्परागत निर्वाहमुखी छाडेर ब्यवसायिक कृषि अर्वलम्बन गर्दै चक्लाबन्दी खेती थालनी भएको हो । यसबाट कृषकहरुलाई कृषिप्रति आकर्षित गर्दै आत्मनिर्भर बनाउने आशा गरिएको छ । चक्लाबन्दी खेतीसंगै कृषि पर्यटन प्रवद्र्धन गरिने छ । त्यस अन्तर्गत, पशुपालन, दलहन, होमस्टे संचालनसमेत जोडिने चक्लाबन्दी खेती प्रवर्धन समितिका अध्यक्ष दिर्घलाल चौधरीले बताउनुभयो ।
यसै अवसरमा हिले दौड प्रतियोगितामा महिलाहरुलाई सहभागि गराइयो । असारे गीत प्रस्तुत गरियो भने वडा नं. १३ का सफल तथा अगुवा किसानहरुलाई सम्मान गरिको थियो ।
असार १५ विशेष फाेटाे फिचर

