
पूर्णपुष्टि, फागुन १४ गते ।
आगामी चैत्र १ गतेदेखि दुर्लभ एक सिङ्गे गैँडा गणना सुरु हुने भएको छ । प्रत्येक ५÷५ वर्षमा गरीने गैडाँ गणना यस चैत्र १ गतेदेखि सुरु गरीने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको हो ।
पहिलो चरणको गैँडा गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गरिने भएको छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने विभागले जनाएको छ । नेपालको चार वटा निकुञ्जमा गैँडा रहेको छ ।
२० दिनसम्म संचालन हुने गैँडा गणनाको लागि ३५ वटा हात्ति र ६० जना प्राविधिक परिचालन गरिने भएको छ । यस अघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । त्यतिबेला ६ सय ४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६ सय ५ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।
गैँडा गणनाका लागि एक करोड १० लाख ३५ हजार रुपैयाँ रकम विनियोजन गरेको विभागले जनाएको छ । बाढीले गैँडा बगाएपछि गत वर्ष नै गैँडाको संख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिए पनि बजेट अभावमा गणना गर्न सकिएको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारले नै बजेट विनियोजन गरेको थियो ।
