Saturday, June 13News That Matters

आज मंगल ग्रह ठूलो र चम्किलो देखिने

पूर्णपुष्टि, असोज २७

आज मंगल ग्रह पृथ्वीबाट ठूलो र चम्किलो देखिदैछ । मंगल ग्रह पृथ्वीसँग आमने सामने हुने भएकाले मंगल ग्रह सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् ।

पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ ।

यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिसन’ अर्थात् आमने सामने भनिन्छ । अपोजिसनको यो घटना हरेक २६ महिनामा एक पटक हुने खगोलशास्त्रीहरु बताउँछन् । यसको मतलब अब मंगल ग्रहको अपोजिसन डिसेम्बर २०२२ भन्दा अगाडि हुने छैन ।

यसलाई हेर्न मध्यरात कुर्नु पर्दैन । रात पर्नासाथ अति चम्किलो तारा जस्तो वस्तु आकाशमा सजिलै देखिन्छ । यदि मंगल ग्रहलाई अझ राम्रोसँग हेर्न चाहेमा आफ्नो घर नजिकको एस्ट्रोनोमी सेन्टरमा गएर टेलिस्कोपबाट हेर्न सकिने खगोलशास्त्रीहरु बताउँछन् ।

मंगलबारको मंगल ग्रहको दृष्य खास मानिएको छ । किनभने यसको अवस्थितिको उचाइ फोटो खिच्नका लागि उपयुक्त हुने खगोल फोटोग्राफरहरु बताउँछन् ।

ग्रहहरु आ–आफ्नो कक्षमा परिक्रमा गरिरहेका हुन्छन् । यो कक्ष अन्डाकार हुने भएकाले एक विन्दुमा मंगल ग्रह र पृथ्वी नजिक आउँछन् । र फेरि घुम्दै एकअर्काबाट टाढा पुग्छन् ।

मंगल ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यसको सतहमा आइरन अक्साइडको मात्रा अत्यधिक रहेकाले यो रातो देखिन्छ ।

पृथ्वीको जस्तै मंगल ग्रहमा उत्तर र दक्षिणी ध्रुव छ, जुन बरफले ढाकिएको छ । यहाँको न्यूनतम तापक्रम माइनस १४० डिग्री सेल्सियससम्म पुग्ने वैज्ञानिकहरु बताउँछन् । मंगल ग्रहको अधिकतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाको एक दिन हुन्छ । तर त्यहाँ वर्ष भने पृथ्वीको भन्दा करिब दुई गुणा लामो हुन्छ । किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६ सय ८७ दिन लाग्छ ।