
पुस १० गते ।
आज विहान सण्डग्रास सूर्य ग्रहण लाग्दैछ । ग्रहणले नेपालमा बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श गर्ने, १० बजेर १ मिनेटमा मध्य भई ११ बजेर ३१ मिनेटमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो ।
झापाको भद्रपुरबाट बिहान ८ बजेर ४८ मिनेटबाट सुरु भई ११ बजेर २७ मिनेटमा सकिने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
सुदूरपश्चिमको कञ्चनपुरबाट बिहान ८ बजेर ३८ मिनेटमा सुरु भइ ११ बजेर १९ मिनेटमा ग्रहण सकिने छ भने काठमाण्डौमा बिहान ८ बजेर ४३ मिनेटदेखि सुरु हुने ग्रहण बिहान ११ बजेर ३३ मिनेटमा समापन हुनेछ । सूर्यग्रहण नेपालबाट खण्डग्रास मात्र देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
सोसाइटीले प्रेस विज्ञप्ति निकालेर नेपालबाट वलय सूर्यग्रहण नदेखिने भएकाले ’रिङ्ग अफ् फायर’ नेपालको कुनै पनि भूभागबाट देख्न नसकिने जानकारी दिएको हो ।
नेपालको पूर्वी भागबाट सन् १९६५ नोभेम्बर २३ तारिखमा बिहान देखिएको ’रिङ्ग अफ् फायर’ देखिएको थियो भने अब सन् २०६४ फेब्रुअरी १७ तारिखमा मात्र देख्न सक्ने सोसाइटीले जनाएको छ ।
